मनमोहन विश्वविद्यालयमा अस्पताल सञ्चालनको तयारी

विराटनगर । कोशी प्रदेश सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयलाई एक वर्षभित्र अस्पताल हस्तान्तरण गरिने भएको छ ।
मनमोहन प्राविधिक विश्वविद्यालयको चौथो सभालाई आइतबार विराटनगरमा सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति रहेका कोशी सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक वर्षभित्र विश्वविद्यालयमा मातहत अस्पताल आउने बताएका हुन् ।

मनमोहन प्राविधिक विश्वविद्यालय देशकै पहिलो प्राविधिक विश्वविद्याय मात्र नभएर कोशी प्रदेश सरकारको गौरव पनि भएकोले स्वास्थ्य क्षेत्रका कार्यक्रमहरु चाँडो सञ्चालन गराउन अस्पताल हस्तान्तरण गर्ने कार्कीले बताए । प्रदेशको ठूलो अस्पताल कोशी संघले आफै मातहत राखेकोले अस्पताल हस्तान्तरण गर्न ढिलाई भएको भन्दै उनले एक वर्षभित्र अस्पताल विश्वविद्यालयका लागि स्थापना गरिसक्ने बताए ।

अर्को सभामा आउँदा विश्वविद्यालयले अस्पताल प्राप्त गरेर शैक्षिक कार्यक्रम सुरु गरिसकेको हुने कुलपति कार्कीले बताएका छन् । अहिले भएकै अस्पताल नभए नयाँ स्थापना गरेर भएपनि अस्पताल हस्तान्तरण गर्ने उनले जानकारी दिए ।

प्रदेश सरकार पनि नयाँ भएकोले विश्वविद्यालयको प्रगतिमा दिनुपर्ने जति चासो दिन नसकेको भन्दै कार्कीले अबको बजेटमा सम्बोधन गर्ने प्रतिबद्धता पनि जनाए । प्राविधिक विश्वविद्यालयको गौरब प्रदेश सरकारसँग पनि जोडिएकोले बजेटमा कमी हुन नदिने उनको भनाइ थियो ।
विश्वविद्यालयका उपकुलपति डा.सुवासश्री पोखरेलले आफ्नै अस्पताल नहुँदा स्वास्थ्य क्षेत्रका विभिन्न प्राविधिक विषयको शैक्षिक कार्यक्रम सञ्चालन गर्न नपाएको बताए । कोशी प्रदेश सरकारले आफनै ऐन बनाएर २०७६ मा स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यायले स्वास्थ्यबाहेक अन्य प्राविधिक विषयमा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

मनमोहनले तीन वटा स्कुल स्थापना गरेर ईन्जिनियरिङ, फार्मेसीमा स्नातक र अस्पताल व्यावस्थापन विषयमा स्नातोकोत्तरको कक्षा सञ्चालन गरिसकेको छ । तर, आफ्नै शिक्षण अस्पताल नहुँदा स्वास्थ्य क्षेत्रका अन्य विभिन्न प्राविधिक विषयहरु सञ्चालन गर्न पाएको छैन ।

सोमबार, ३१ भदौ, २०८१, बिहानको ०८:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर