विराटनगर । झापाको बिर्तामोड पुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विवादास्पद गिरिबन्धु टिस्टेटको क्षेत्रमा मार्च पास गरेका छन् ।
आज बिहान सयौँ कार्यकर्ताका साथमा मार्च पास गरेका हुन् । कानुन विपरीत सट्टापट्टाको जग्गा खरिद गरेर बसेका सर्वसाधारणको क्षेत्र बसपार्क मै पुगेका थिए प्रचण्ड । त्यस क्रममा उनले सदन, सडक र सरकारमा सङ्घर्ष गरेर भए पनि पीडितलाई न्याय दिलाउन पहल गर्ने बताएका छन् । उनले अवैध तरिकाले सरकारको सम्पत्ति हडप्नेहरूका विरुद्धमा सरकारले निर्णय गरेकै कारण सरकारबाट हट्नु परेको बताएका थिए ।
बसपार्क समन्वय समितिका संयोजक सुजन सिवाकोटीले प्रचण्डलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र बुझाउँदै उनले कुनै भ्रष्ट, घुसखोर नभएको तर झुक्क्याएर जग्गा किनाएको बताए ।
उनले हदबन्दी छूट भएको जग्गा मध्येबाट गिरिबन्धु टी स्टेट प्रालीले भगिनी संस्थाको नाज टी स्टेटलाई २०५२ जेठ ८ गतेको मन्त्रीस्तरिय निर्णयबाट ५१ बिगाहा जग्गाको नामसारी गरेको र २०६० असार १६ को निर्णयले उक्त जग्गा बिक्री गर्ने स्वीकृति दिएर सो जग्गा विभिन्न व्यक्तिहरूलाई बेचिएको दाबी गरे ।