विराटनगर । भारतका कृषि वैज्ञानिक र विज्ञले कृषिक्षेत्रको अबको बाटो अर्गानिक उत्पादन नै भएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा मोरङको कटहरीस्थित कृषि थोक बजारमा भइरहेको कृषि एक्स्पोमा शनिबार आयोजित कृषि अन्तरसंवादमा सहभागी भारतका कृषि वैज्ञानिकले यस्तो सुझाब दिएका हुन् ।

नेपाल र भारतमा बढ्दो रसायनिक मलखाद तथा विषादीको प्रयोग चिन्ताको विषय भएको भारत पश्चिम बंगालका कृषि वैज्ञानिक डा. कंचन भौमिकले बताए । आफूहरु विगत १५ वर्षदेखि भारतमा अर्गानिक अभियानमा सक्रिय भएको भन्दै उनले नेपालले पनि वार्षिक रुपमा २ लाख ७० हजार टन युरियालगायत रासायनिक मलखाद खरिद गर्नु चिन्ताको विषय भएको उल्लेख गरे ।

भौमिकले आफूले ६ वर्षदेखि पूर्वी नेपालको झापा र इलाम तथा मधेश प्रदेशमा अर्गानिक अभियानका लागि प्राविधिक सहयोग गर्दै आएको जानकारी दिँलै जैविक मलको उत्पादन तथा यसको प्रयोग सिकाउन सहकार्य गर्ने प्रतिबद्धता जनाए । भारतका उडिसाका कृषि वैज्ञानिक डा.बरिकले अहिले विश्वको चुनौती नै रैथाने बालीका बीऊ जोगाउने भएको बताउँदै नेपालले समेत आफ्ना मौलिक बीऊ जोगाएर त्यसको खेतीमा जोड दिनुपर्ने सुझाव दिए ।

‘एउटा बीऊबाट धेरै बिरुवा उमार्ने प्रविधि प्रापागेसनमार्फत रैथाने बीऊ बचाउन सकिन्छ’ उनले भने, ‘यसको उत्पादन बढाएर किसानले धेरै भन्दा धेरै मूल्य समेत पाउन सक्छन् ।’ विगतमा एउटा घरमा एउटा गाई वा भैंसी पाल्ने, दूध दुहुने र त्यसकै गोबर गहुँत खेतबारीमा लगाउने चलन रहेकोमा विस्तारै कम हुँदै जाँदा माटोको उर्वरा शक्तिमा पनि असर गरेको उनले बताए ।

उडिसाका कृषि वैज्ञानिक सुभाषिशा बलले फाइभ जी कृषि प्रविधिमार्फत भारतमा विकास गरिएको धानको प्रजातिका विषयमा जानकारी गराए । प्रविधि प्रयोगसँगै रैथाने बीऊको प्रयोग गरी गरिएको उत्पादनबाट धेरै भन्दा धेरै आम्दानी लिन सकिने उनको भनाइ छ ।

खाना विषादीरहित र सुरक्षित हुनुपर्ने बताउँदै उनले जैविक मलको प्रयोगलाई बढाउनु पर्ने सुझाव दिए । काठमाडौ विश्व विद्यालयका कृषि कार्यक्रम प्रमुख डा. कुमार लामाले नेपालमा कृषि विज्ञानको पढाइ गर्ने क्याम्पसहरु वृद्धि भएको तर दक्ष जनशक्ति उत्पादन अहिले पनि चुनौती भएको बताए ।