इटहरीका मेयरविरुद्ध दलहरु आन्दोलित

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाका प्रमुखको कार्यशैली पारदर्शी नभएको र उपमहानगरमा नीतिगत भ्रष्टाचार बढेको भन्दै पाँच राजनीतिक दल आन्दोलित बनेको छन् ।

शिक्षा, स्वास्थ्य, यातायात लगायतका विषयमा नगरप्रमुखले मनोमानी किसिमले खर्च गरेको भन्दै उनीहरूले दुई साताभित्र सार्वजनिक सुनुवाइमार्फत जवाफ दिन मागसमेत गरेका छन् ।

दलहरूले प्रदेश र प्रतिनिधिसभामा इटहरी उपमहानगरमा भएको अनियमितताको विषयमा समेत आवाज उठेकोले तत्काल यस विषयमा प्रष्ट पार्न भनेका छन् । गत आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत सम्पन्न योजनाको भुक्तानी नदिनुको कारण पनि उनीहरुले मागेका छन् ।

नेकपा एमाले इटहरी अध्यक्ष रुपेश बस्नेत, रास्वपा सभापति विष्णु बस्नेत, राप्रपा अध्यक्ष आकाश सुब्बा, नेकपा एकीकृत समाजवादी संयोजक गौरीमान परियार र नागरिक मुक्ति पार्टीका अध्यक्ष शेषकराम थान्दारले यस्तो माग गरेका हुन् । उनीहरुले आफ्नो माग सम्बोधन नभए संघर्षमा उत्रने चेतावनीसमेत दिएका छन् ।

अपारदर्शी ढङ्गले अनावश्यक कर्मचारी नियुक्ति भएको, ३ महिनादेखि कर्मचारीहरूले तलब नपाएको, विद्युतीय बस खरिद र अस्पतालको सिटी स्क्यान मेसिन खरिदमा उठेका सवालको नगरप्रमुखले सार्वजनिक सुनवाइमार्फत जवाफ दिनुपर्ने दलहरूको भनाइ छ । इटहरीको शान्ति सृजना स्कुलमा ८० लाख भन्दा बढी भुक्तानी गरेको देखि अनावश्यक निर्माण सम्बन्धी मेशिनरी सामान खरिदमा अनियमितता गरेको भन्दै प्रश्न उठाइएको छ ।

गत आर्थिक वर्षको आर्थिक दायित्व भुक्तानी गर्नुपर्ने बाकी रहेको, शिक्षा र स्वास्थ्यमा नीतिगत भ्रष्टाचार भएको, आर्थिक सहयोगको नाममा कार्यविधि मिची तोक आदेशमा मनपरी भुक्तानी गरिएको, नगर प्रहरी लगायत कर्मचारीहरूको दुरुपयोग भएको, तोक आदेशको भरमा योजना सञ्चालन गरिएको तथा सञ्चार माध्यमहरूलाई विज्ञापनको नाममा दिइएको अपारदर्शी रकमका सम्बन्धमा सार्वजनिक सुनुवाइ हुनुपर्ने उनीहरूको माग छ ।

बिहिबार, २० भदौ, २०८१, साँझको ०६:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर