विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय संरचनामा सबै भन्दा अब्बल प्रदेश सरकार रहेको दावी गरेका छन् ।
विराटनगरमा बिहीबार आयोजित संघीय शासन प्रणाली सवलीकरण विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री कार्कीले विनाअध्ययन र विनाआधार प्रदेश सरकारको काम छैन भन्ने जस्ता तथ्यहिन टिप्पणी हुने गरेको बताए ।
संघीयता आएपछि सबैभन्दा बढी विकास निर्माणको काम प्रदेश सरकारले गरेको बताउँदै मुख्यमन्त्री कार्कीले त्यसको उचित प्रचारप्रसार हुन नसकेको बताए । ‘विगत ३० वर्षमा हुन नसकेको काम संघीयता आएपछि भएको छ, त्यसमा प्रदेशको योगदान सबैभन्दा धेरै छ’ उनले भने, ‘तर, प्रदेशले गरेका कामहरु स्थानीय सरकारले आफूले गरेको दावी गर्ने र प्रदेश सरकारको प्रतिनिधि नागारिकसम्म नपुग्दा भ्रम छरिएको छ ।’
मुख्यमन्त्री कार्कीले ७ वर्षमै संघीयताको विषयमा समिक्षा र धारणा बनाउन उचित नहुने भन्दै अझैं पनि संविधान अनुसार प्रदेशले अधिकार नपाएको बताए । अधिकारहरु प्रदेशलाई प्रत्यायोजन नहुदै संघीयता चाहिन्छ कि चाहिन्न भनेर जाँच्ने बेला नभएको उनको भनाइ छ । संघीयतासहितको संविधान जारी गर्नेहरुले प्रदेशलाई अधिकार दिनेबारे आवाज नउठाई संघीयताविरुद्धकै अभिव्यक्ति दिने गरेको भन्दै उनले आक्रोश व्यक्त गरे ।
‘संविधान जारी गर्दा हस्ताक्षर गरेका कतिपय व्यक्तिहरु प्रदेश सरकारले गरेको कामको मूल्यांकन नै नगरी प्रदेश खारेज गर्नुपर्छ भन्दै बोल्दै हिँडेको देखिन्छ’ मुख्यमन्त्री कार्कीले भने, ‘जथाभावी बोल्दै हिँड्नेभन्दा यसको वस्तुवादी मूल्यांकन हुनुपर्छ । उनले राजनीतिक नेतृत्व र कर्मचारीको नेतृत्वमा रहेको केन्द्रिकृत मानसिकताले संघीयता बलियो बनाउन अबरोध भइरहेको पनि दावी गरे ।
मुख्यमन्त्री कार्कीले संघीय सरकार भन्दापनि स्तरीय बाटो, पुल लगायतका विकास प्रदेश सरकारले गरिरहेको दाबी गर्दै तथ्य नहेरी प्रदेशको काम छैन भन्ने जस्ता सतही टिप्पणी हुने गरेकोमा असन्तुष्टि जनाए । प्रदेश सरंचनालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताउँदै उनले हचुवाको भरमा टिप्पणी गर्नेहरुले महालेखा परीक्षकको प्रतिवेदन हेर्नुपर्ने सुझाब दिए । ‘महालेखाको प्रतिवेदन हेर्दा थाहा हुन्छ, ७ बर्षमा प्रदेश र केन्द्रको बेरुजुको अवस्था के छ’ उनले भने, ‘विकास बजेट खर्चमा पनि प्रदेश सरकार अब्बल रहेको तथ्यले प्रमाणित गरेको छ ।’
कोशी प्रदेश सरकारको समन्वय एवम् फेडरलिजम् एण्ड लोकलाईजेसन सेन्टरको आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक गोपी अछामी, पूर्वसंसदका पूर्वसांसद तथा आयोजक संस्थाका कार्यकारी निर्देशक प्रकाश पन्थले संघीयता सबलीकरणमा तीन वटै तहको महत्वपूर्ण भूमिका रहने धारणा राखेका थिए । सेन्टरका अध्यक्ष डा. खिमलाल देवकोटाले ७ प्रदेशका कार्यक्रम सकेर प्रतिवेदन संघीय तथा प्रदेश सरकार र दलका नेताहरूलाई बुझाउने जानकारी दिए ।
कार्यक्रममा संघीय अभ्यासमा भएका सकारात्मक परिणाम, प्रदेशले भोगेका चुनौतिहरु र संविधान संशोधनका एजेण्डाबारे सरकारका मन्त्रीहरु, राजनीतिक दलका प्रतिनिधिहरु, सरकारी निकायका प्रमुखहरु, मन्त्रालयका सचिवहरुसमेतले आफ्नो धारणा राखेका थिए ।