नाबालिका छोरीको हत्यापछि पाँच दिन कहाँ बसेकी थिइन् अस्मिता ?

पतिको रिसले नाबालिकाको हत्या

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा पाँच दिन अगाडि मृत भेटिएका दुई नाबालिकाहरुलाई आमाले नै हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पतिको रिसका कारण आमा अस्मिता पौडेल (कार्की) ले आफ्ना एक र तीन वर्षे छोरीहरु आइका र अर्पणालाई विष खुवाएर हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेकी छन् ।

गत शनिबार सुन्दरहरैँचा–७ का स्थानीय नारायण न्यौपानेको केराघारीभित्र नाबालिकाहरूको शव भेटिएको थियो । छोरीहरू मृत फेला परे पनि आमा अस्मिता सम्र्पकविहीन थिइन् । घटनापछि फरार बनेकी उनलाई पाँच दिनपछि बुधबार झापाको बिर्तामोड नगरपालिका–५ पूर्व–पश्चिम लोकमार्ग नजिक एभरेष्ट बैंक अगाडि हिँडिरहेका बेला फेला पारिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । पक्राउ परेकी अस्मितालाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको छ ।

नाबालिकाहरूको शव भेटिएको स्थानमा कीटनाशक औषधि ‘मेटासिट’को बट्टा फेला परेको थियो । त्यही ‘मेटासिट’ खुवाएर अस्मिताले नाबालिका छोरीहरूको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अस्मिता केही मानसिक समस्यामा रहेजस्तो पनि देखिन्छ । अस्मिताले आफूले पनि विष सेवन गरेको बयान दिएकी छन् ।

‘मलाई पतिले धेरै तनाव दिन्थे । ‘मारेर गाड्छु’ भन्न थाले । ‘टर्चर’ सहन सकिनँ,’ उनले भनिन्, ‘त्यसपछि दुवै छोरीलाई लिएर हिँडे । मर्नलाई भनेर विष पनि लिएर गएकी थिएँ । छोरीहरूलाई मात्रै छाडेर एक्लै मर्न मन लागेन ।’ सुरुमा आफूले विष सेवन गरेको र पेट पोल्न थालेपछि अब चाहिँ मर्छु होला भनेर छोरीहरूलाई समेत खुवाएको अस्मिताले भनेकी छन् । आफूलाई पतिले धेरै पहिलेदेखि तनाव दिँदै आएको र अति भएपछि यो बाटो अपनाएको उनले बताइन् । ‘सुरुमा मैले विष खाएँ । त्यसपछि छोरीहरूलाई खुवाएँ । उनीहरू मरे । तर, म चैं मरिन,’ उनले भनिन्, ‘यस्तो बाटो अपनाउन मन थिएन । घरमा कहिल्यै मेलमिलाप भएन । मलाई लामो समयदेखि ‘टर्चर’ थियो । सहन सकिनँ ।’ उनको भनाइ अनुसार पतिसँग बारम्बार झैझगडा र विवाद हुने गरेको थियो ।

तर, अस्मिताले विषपान गरे नगरेको विषयमा प्रहरीले अनुसन्धान गर्ने, रगत परीक्षण गरेर पत्ता लगाउने मोरङ प्रहरीका एसपी कार्कीले बताए । ‘शारीरिक अवस्था हेर्दा विषको असर हो कि जस्तो देखिन्छ । तर, रगत परीक्षणपछि मात्रै पत्ता लाग्छ । परीक्षणको प्रक्रिया अघि बढाइसकिएको छ,’ एसपी कार्कीले भने ।प्रहरीका अनुसार अस्मिताको माइती संखुवासभाको मुढेशनिश्चरे हो । अर्जुनसँग २०७५ साल फागुन ९ गते प्रेम विवाह भएको थियो ।

नाबालिकाको शव भेटिएपछि घटनास्थल पुगेर मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की आफैं अनुसन्धानमा खटिएका थिए । अस्मिताले सँगै लिएर गएका दुई नाबालिका छोरी मृत फेला परेपनि स्थानीय र प्रहरीले निरन्तर खोजी गर्दासमेत उनी भेटिएकी थिइनन् । अस्मिता धनकुटाको पाख्रिबास नगरपालिका–५ घर भइ सुन्दरहरैँचा–७ स्थित दिदी सीता रेग्मीको घरमा बस्दै आएका अर्जुन कार्कीकी पत्नी हुन् । आइङ्का र अपर्णा अस्मिता उनीहरुका छोरी हुन् ।

आफ्नो निर्माणाधीन घरमा पानी लगाउने विषयमा पति अर्जुनसँग विवाद भएपछि शुक्रबार साँझ कलिला नानीहरू लिएर बेपत्ता भएकी अस्मिताले त्यही रात विष खुवाएर दुवै जनालाई मारेपछि आफू फरार भएको एसपी कार्कीले बताए । उनका अनुसार अस्मिताले ‘तेरा छोरी मारिदिइसकें, म पनि मर्छु’ भनेर मोबाइलमा म्यासेज पठाएको पति अर्जुनले बताएका थिए ।

अस्मिताले प्रयोग गर्ने मोबाइल नाबालिकाहरूको शवनजिकै फेला परेको थियो । ‘विष खुवाएर छोरीलाई मारेपछि रातभर विक्षिप्त भएर जंगलतिर भौतारिएको पाइयो । भोलिपल्ट बेलबारीको खोसार्नेबाट गाडी चढेर बिर्तामोड पुगेको खुल्यो,’ एसपी कार्कीले भने, ‘बिर्तामोडमा यतिका दिनसम्म जंगलको छेउ र बस्तीनजिक भौतारिएर विक्षिप्त मानसिकतामा हिँडेको भन्ने कुरा छ । मंगलबार राति चाहिँ १ जना शंकास्पद महिलाले स्थानीयको घरमा बास माग्दै हिँडेको जानकारी आएको थियो ।’ त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

दुई छोरीको हत्या आरोपमा पक्राउ परेकी अस्मिता शारीरिक अवस्था एकदमै नाजुक रहेको र सडकमा भौतारिएर हिँडिरहेको विक्षिप्त अवस्थामा भेटिएपछि उनलाई विराटनगर ल्याएर उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको छ । अस्मिताविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट ४ दिन म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी कार्कीले दिए । ‘घटनाको ५ दिनपछि अस्मितालाई सडकमा अस्वस्थ अवस्थामा फेला पारिएको हो,’ एसपी कार्कीले भने, ‘शारीरिक अवस्था निक्कै कमजोर छ । उपचारका लागि अस्पताल भर्ना गरिएको छ । ज्यान मुद्दामा अनुसन्धान पनि अघि बढ्यो ।’

प्राप्त जानकारीकै आधारमा हुलिया विश्लेषण गर्दै खोजी गर्दा अस्मिता फेला परेको प्रहरीले जनाएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टमपछि दुवै नाबालिकाको शवको अन्त्येष्टि गरिसकिएको छ । बाबु अर्जुन उनीहरूको काजकिरियामा छन् । केरा बगानभित्र दिदीले बहिनीलाई अँगालो हालेको अवस्थामा शव फेला परेको थियो ।

बिहिबार, २० भदौ, २०८१, बिहानको ०७:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page