दुई छोरीलाई विष खुवाएर मारेको आमा अस्मिताद्वारा स्वीकार

विराटनगर । मोरङमा पाँच दिन अगाडि मृत भेटिएका बालिकाहरुलाई उनकै आमाले विष खुवाएको पुष्टि भएको छ । बालिकाकी आमा अस्मिता कार्कीले आफ्ना दुई छोरीलाई आफूले नै मारेको स्वीकार गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङमा बुधबार सार्वजनिक गर्ने क्रममा संक्षिप्त प्रतिक्रिया लिँदा उनले सुरूमा आफैंले विष खाएपछि छोरीहरुलाई खुवाएको बताएकी छन् । ‘मैले विष खाएपछि छाती पोल्न थाल्यो । म मरे भने छोरीहरू जङ्गलमै हुन्छन् भन्ने लागेर उनीहरूलाई पनि विष खुवाएँ’ उनले भनिन्, ‘श्रीमानले धेरै टर्चर गरेपछि मैले यसो गरेको हुँ ।’

मोरङ सुन्दरहरैँचा–७ स्थित केरा बगानभित्र मृत भेटिएका १ वर्षकी आईका कार्की र ३ वर्षकी अर्पणा कार्कीकी आमा अस्मिता कार्कीलाई प्रहरीले नै झापाको विर्तामोडबाट पक्राउ गरेको थियो । घटना भएको ५ दिनपछि बिर्तामोडस्थित सडकमा अस्वस्थ्य अवस्थामा फेला पारेर अस्मितालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो ।

मोरङ प्रहरी प्रमुख नवराज कार्कीले उनलाई कर्तव्य ज्यान सम्बन्धि मुद्दामा म्याद थप गरि अनुसन्धान सुरू गरिएको जानकारी दिए ।
अस्मिताले गत शुक्रबार दुई छोरीलाई लिएर घरबाट हिँडेकोमा शनिबार दिउँसो केराबारीमा छोरीहरुको शव फेला परेको थियो भने उनी बेपत्ता थिइन् ।

अस्मिता धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरे घर भइ सुन्दरहरैँचा–७ मा बस्दै आएका अर्जुन कार्कीकी पत्नी हुन् । पत्नी र २ छोरीसहित सुन्दरहरैँचा–७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा अर्जुन बस्दै आएका थिए । उनले नयाँ घर पनि बनाउँदै थिए ।

निर्माणाधीन घरमा पानी नलगाएको भन्दै अर्जुनले गाली गरेपछि दुईबीच विवाद भएको बताइएको छ । विवादपछि २ जना नाबालिका छोरीलाई लिएर अस्मिता बेपत्ता भएकी थिईन् । प्रहरीले नाबालिकालाई विष खुवाएर हत्या गरेको निष्कर्ष निकालेको छ ।

दुवै नाबालिकाको शवको अन्त्येष्टि गरिसकिएको छ । केरा बगानभित्र दिदीले बहिनीलाई अँगालो हालेको अवस्थामा शव फेला परेको थियो । नाबालिकाहरुको शव भेटिएको स्थानमा कीटनाशक औषधि ‘मेटासिट’को बट्टा फेला परेको थियो ।

बुधबार, १९ भदौ, २०८१, दिउँसोको ०२:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page