विराटनगर । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुईवटा मन्त्रालय फुटाएपछि सोमबार एमाले सरकारमा सहभागि भएको छ । एमालेका चारजनाले मन्त्री पदको शपथ लिएका छन् ।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट सोमबार ती चार मन्त्रीलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।
एमालेबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश केसी , उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी र स्वास्थ्य मन्त्री कृष्ण पाठकले शपथ लिए ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुईवटा मन्त्रालय फुटाएर ७ बाट ९ बनाउने निर्णय गरेको हो । यसअघि गण्डकीमा ७ वटा मन्त्रालय थिए ।
मुख्यमन्त्री पाण्डेले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएका थिए ।
गण्डकीमा सत्तासाझेदार दल एमालेले चार मन्त्रालय खोजेपछि तनाव भएको थियो । मन्त्रालय बाँडफाँटमा कुरा नमिलेपछि सरकारमा नगएको एमालेलाई मनाउन मुख्यमन्त्री पाण्डेले मन्त्रालय फुटाएर ४ वटा दिएका हुन् ।