विराटनगर । ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत् ३५ वर्षपछि आफ्नो परिवार भेटेका प्रकाश तामाङ्ग ‘काले’ ले नागरिकता प्रमाण पत्र पाएका छन् ।
भोजपुर षडानन्द नगरपालिका–१० छाप्लेगाउँ (साम्पाङ) स्थित उनको घरमै गएर नगरपालिकाका जनप्रतिनिधि र प्रशासनका अधिकारीले आइतबार उनलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।
जिल्लाको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदास, वडाध्यक्ष प्रेमदोर्जी शेर्पा प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईँ र इलाका प्रशासन कार्यालय दिङ्लाका प्रशासकीय अधिकृत विनोद भण्डारीले सरकारी प्रक्रिया अनुसार आइतबार प्रकाशलाई ०९–०२–८१–००३५७ नम्बरको नागरिकता प्रमााणपत्र दिएका हुन् । गत वर्ष प्रकाशले नागरिकता लिन जाँदा प्रशासनले जन्मदर्ता नभएको भन्दै त्यसै फर्काएको थियो ।
हेर्ने कथाले उनको ३५ वर्ष हराएको कथा प्रशारण गरेपछि सबैको ध्यान खिचेको थियो । जसकारण उनले घरमै नागरिकता पाएका हुन् । नागरिकता लिएसँगै प्रकाश प्रधानमन्त्री भेट्न काठमाडौं जाने उनीसँगै रहेका पत्रकार राजेश राईले जनाएका छन् ।
नागरिकता पाएपछि प्रकाशले खुसी व्यक्त गरे । उनले हेर्ने कथा र विद्या चापागाईँ साथै आफूलाई गाउँघर फर्काउनेहरूलाई धन्यवाद दिएका छन् । मेयर उदासले प्रकाशले चाहे उनको योग्यताअनुसार नगरपालिकाले रोजगारीको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् ।
गोर्खाबाट काठमाडौं आएर शनिबार बिहान प्रकाशन बुद्ध एयरको जहाजमा तुम्लिङटार एयरपोर्ट हुँदै घर पुगेका थिए । भोजपुर घर भएका युवाहरूले अभियान नै चलाएर प्रकाशलाई नागरिकता दिलाउने र बैंक खाता खोल्नका लागि पहल गरेका थिए ।
प्रकाशलाई तीन दशकभन्दा धेरै समय आश्रय दिएका टसि दोर्जे लामाले खाता खुलेपछि १० लाख रकम जम्मा गरिदिने प्रतिबद्धता जनाएका छन् । बिदाइका क्रममा उनले आफ्नै घर सम्झिएर फेरि फेरि आउन पनि प्रकाशलाई आग्रह गरेका थिए।
प्रकाशलाई बाटोमा भेट्ने अधिकांशले सहयोगको प्रतिबद्धता जनाएका छन् । शुक्रबार काठमाडौँ आउने क्रममा एक महिलाले राजमार्गमै फुलमालासहित सम्मान गरेर २० हजार रुपैयाँ सहयोग पनि गरेकी थिइन् । गोर्खाको चुमनुब्री गाउँपालिकाले पनि उनलाई १ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएको छ ।
प्रकाशका लागि सोही क्षेत्रका सांसद सुदन किराँतीको नेतृत्वमा घरसमेत निर्माण हुने भएको छ ।
नागरिकता लिन वडा पुगेका ‘काले’लाई उ बेला फर्काइयो, अहिले बोलाइँदै