उदय र मनिलाको एकल साँझमा झुमे कपल जोडी

विराटनगर । नेपाली गीत, सङ्गीत, विवाह पार्टी र विभिन्न राजनीतिक कार्यक्रम भइरहने विराटनगरको जैन भवनमा शुक्रवार साँझमा फरक दृश्य देखियो । जैन भवनको प्रवेशद्वारमा अरू बेलाभन्दा फरक थियो, त्यहाँ विराटनगर ११ स्थित नेपाल बिजनेश कलेजका ७ औँ सेमेस्टरका विद्यार्थीहरू स्वागतमा थिए ।

उनीहरू जैन भवनमा आउने कपल जोडी र पाहुनाहरूलाई झुकेर ‘नमस्ते’ टक्र्याउँथे । सन्दर्भ थियो – नेपाल बिजनेस कलेजका विद्यार्थीहरूले कपल जोडीहरूको लागि विराटनगरमै पहिलो पटक एकल साङ्गीतिक साँझ । ‘द टाइमलेस टियुनेसू’ नाम दिइएको यो साङ्गीतिक साँझमा प्रख्यात कलाकार गायक उदय सोताङ र गायिका मनिला सोताङको प्रस्तुतले सहभागी भएका कपल जोडी र अतिथिहरूले भरपुर साङ्गीतिक मनोरञ्जन लिए ।

भनिन्छ, सङ्गीतको न आफ्नो भाषा हुन्छ न सिमाना । करिब २ घण्टासम्म चलेको साङ्गीतिक प्रस्तुतिमा श्रीमान् श्रीमती उदय र मनिलाको गीत सङ्गीतमा विराटनगर बासी मज्जाले झुमे, हुटिङ गरे । उनीहरूले एकल साँझमा सङ्गीतको अनुभव लिए । रातको ८ बजेपछि स्टेज चढेका उदय र मनीलाले ‘आदिबाटो हिँडेपछि तिमिसँग भेट भयो।।।। बोलको गीतबाट आफ्नो साङ्गीतिक प्रस्तुति आरम्भ गरे । सुरु गीतबाट दर्शकको हौसला पाएका उनीहरूले आफ्नो प्रेम कहानीको पनि बिच बिचमा सुनाएर रोमान्टिक वातावरण बनाए । गायिका मनिलालाई बुढी भन्दै सम्बोधन गर्ने उदयले दोस्रो गीत ‘तिमी बिना बाच्न गाह्रो भयो।।।।। बोलको गीत प्रस्तुत गर्दा जैन भवन भरी टेबलमा बसेका कपल जोडीले हुटिङ गरेर थप हौसला दिए । त्यसपछि उनीहरूले ‘माया नमार।।।, हजार जुनीसम्म।।।, मेरो हाल नसोध।।।लगायतको एक दर्जन बढी गीत प्रस्तुत मनोरञ्जन दिलाए ।

नेपाल बिजनेश कलेजका बिबिए सातौँ सेमेस्टरका ६२ जना विद्यार्थीहरूले यो एक साङ्गीतिक साँझ कार्यक्रम गरेको कार्यक्रम व्यवस्थापक रोहन बस्नेतले बताए । कलेजका प्रबन्ध निर्देशक दीपक कोइरालाका अनुसार यो कार्यक्रम विद्यार्थीहरूको पाठ्यक्रमको एक अंश हो । कार्यक्रम पश्चात् विद्यार्थीहरूले व्यवहारिक कार्य पत्र बुझाएर २० अंक प्राप्त गर्नेछन् । साङ्गीतिक साँझबाट मुनाफा भएको रकम विराटनगरस्थित विराटेश्वर वृद्धा आश्रममा सहयोग गर्ने उनीहरूले बताएका छन् ।

इभेन्ट निर्देशक रित्तीका घिमिरे र संयोजक सपना साहको नेतृत्वमा विद्यार्थीहरूले यो कार्यक्रम आयोजना गरेका हुन् । यसले विद्यार्थीहरूलाई इभेन्ट म्यानेजमेन्टको व्यावहारिक ज्ञान प्रदान गर्नुका साथै पूर्वाञ्चल क्षेत्रमा नयाँ प्रकारको मनोरञ्जनात्मक अनुभव प्रदान गर्ने अपेक्षा गरिएको कलेजले जनाएको छ ।

यो कार्यक्रमले शैक्षिक र मनोरञ्जनात्मक पक्षलाई सम्मिश्रण गर्दै विद्यार्थीहरूलाई व्यावहारिक अनुभव प्रदान गर्ने र स्थानीय समुदायलाई उच्च स्तरीय सङ्गीत सन्ध्याको आनन्द दिने लक्ष्य लिएको बताइएको छ ।

शनिबार, १५ भदौ, २०८१, दिउँसोको ०३:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर