प्रदेशसभाको बैठक आज बस्दै

विराटनगर । कोशी प्रदेश सभाको बैठक आज बस्दैछ । असार ८ गते बजेट पारित गरेपछि स्थगित भएको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको हो ।

लामो समय बैठक नराखेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले असन्तुष्टि जनाएको थियो । लगतै नेकपा एमालेले पनि बैठक राख्नुपर्ने माग राखेपछि सभामुख अम्बरबहादुर विष्टले बैठक बोलाएका हुन् ।

नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन बनेपछि आफू सरकारमा सहभागी भएपछिमात्रै बैठक राख्न कांग्रेसले दबाब दिएको थियो । तर, आन्तरिक किचलोका कारण गठबन्धन बनेको दुई महिना पुग्न लाग्दा पनि कांग्रेस सरकारमा सहभागी नभएकै अवस्थामा प्रदेश सभाको बैठक बस्न लागेको हो ।

सरकारमा सहभागी नभए पनि कांग्रेसले सत्ता पक्षको रोहमा बस्ने जानकारी प्रदेश सभालाई दिएको छ । साउन ११ गते सरकारबाट बाहिरिएको माओवादी केन्द्र भने प्रमुख प्रतिपक्ष दलको हैसियतमा बैठकमा सहभागी हुने सो पार्टीले जनाएको छ ।

प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेश सभामा सरकारले तीनवटा विधेयक दर्ता गरिसकेको छ । जसमा केही प्रदेश ऐनको साविकको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश निजामती ऐन संशोधन विधेयक र प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान ऐन संशोधन विधेयक रहेका छन् । शुक्रबारको बैठकमा तीनवटै विधेयक टेवल हुने सम्भावना रहेको छ ।

शुक्रबार, १४ भदौ, २०८१, बिहानको ०८:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर