विराटनगर । करिब २ अर्ब लागतमा निर्माण भइरहेको कोशी रिफ्रेसमेन्ट सेन्टर निर्माण सम्पन्न हुन अझै तीन वर्ष लाग्ने देखिएको छ ।
सुनसरीको कोशी गाउँपालिकामा निर्माणधीन प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको आयोजनाको पहिलो चरणको जारी कामको आज कोशी प्रदेशका मुख्यमन्त्रीसहितको टोलीले अनुगमन गरेको छ । सेन्टर निर्माण सुरु भएको ४ वर्षभन्दा धेरै भइसकेको छ ।
परियोजना कोशी व्यारेज पूर्वपट्टी पुर्वपश्चिम राजमार्गसँगै रहेको छ । कुल २२ विगाहा १२ कठ्ठा क्षेत्रफलमा निर्माणाधीन सेन्टरमा १७५ वटा बसलाई पार्क गर्ने गरी पार्किङ स्थल, पेट्रोल पम्प, चालकहरुका लागि विश्रामस्थल, स्वीमिंग पुल, प्रहरी चौकी, स्वास्थ्य चौकी, रेस्टूरेन्टलगायतका संरचना रहनेछन् ।
निर्माणाधीन रिफ्रेसमेन्ट सेन्टरको अनुगमन गर्दै मुख्यमन्त्री कार्कीले पहिलो चरणको काम चाँडै सम्पन्न हुने बताए । स्थानीयको सहयोगले परियोजनाको काम सहज रुपमा भइरहेको भन्दै उनले चैत महिनाभित्रै पहिलो चरणको काम सम्पन्न हुने जानकारी दिए ।
सबैको साथ सहयोग रहेमा परियोजनाका सबै काम तीन वर्षभित्रै पुरा गर्न सकिने मुख्यमन्त्री कार्कीको विश्वास छ । पहिलो चरणका काम सम्पन्न गर्न ५७ करोड ९८ लाख लागत लाग्ने अनुमान गरिएकोमा ३० करोड ४३ लाखमा सम्झौता भएको उनले बताए । परियोजना सम्पन्न गर्न २ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
अनुगमनका क्रममा कोशी प्रदेशका पूर्वमन्त्री जगदिशप्रसाद कुसियैतले परियोजनाका विषयमा र स्थानीयका समस्याहरुका विषयमा मुख्यमन्त्री कार्कीलाई जानकारी गराएका थिए । अनुगमन टोलीमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना, प्रदेश प्रमुख सचिव केदारनाथ शर्मा, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अशोक साह तथा सुरक्षा निकायका प्रमुखहरु सहभागी थिए ।