विराटनगर । जंगली जनावरको चोरी शिकारीमा संलग्न नेपाल प्रहरीका पूर्वडीआइजीसहित १० जनालाई सप्तरी प्रहरीले बुधबार राति पक्राउ गरेको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ कोशी ब्यारेज क्षेत्रबाट अवैध रूपमा बँदेल मारेर ल्याउँदै गर्दा प्रहरीले हतियारसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा सुनसरीको इटहरी २ घर भएका नेपाल प्रहरीका पूर्वडीआईजी ज्ञानविक्रम शाह र विराटनगर ३ घर भएका नेपाल प्रहरीका बहालवाला सई सञ्जय न्यौपानेसमेत छन् । यस्तै हनुमाननगर कंकालिनी नगरपालिका ८ घर भएका पूर्वउपसभामुख गंगाप्रसाद यादवका छोरा आकाश बहरखेर यादव, तिरहुत २ का लक्ष्मण मण्डल, हनुमाननगर कंकालिनी २ का जर्नादन राउत, इटहरी २ का प्रदीप लिम्बु र राजविराज ७ का रविन दाससमेत पक्राउ परेका छन् ।
हनुमाननगर कंकालनी नगरपालिका ५ का ओमशंकर प्रसैला, वडा नं. १ का लक्ष्मण मण्डल, वडा नम्बर ३ का शंकर खिडहरी यादवलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट २२ क्यालीबरको राइफल एकवटा, म्यागजिन २ थान, १५ राउण्ड गोली, तीन वटा वाइनाकुलर, ट्राइपोर्ट एक, फलामको हथौडा एक, खुर्पा एक पनि बरामद गरेको छ ।
मारिएको बँदेल लोड गरिएको को २ त ६९ नम्बरको ट्रयाक्टर र प्र ३–०१– ०२२ च ६८५५ नम्बरको स्कारपियो समेत नियन्त्रणमा लिएको छ । सप्तरी प्रहरीका प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।
पक्राउ परेकाहरुले खेतबारीमा बाली खान आएका बेला बँदेल मारेको बताएका छन् । नेपाल सरकारले ७ मंसिर २०८० मा हानिकारक वन्यजन्तु भनेर बँदेललाई घोषणा गरेको थियो । जसअनुसार बाली खान आएको बेला खेतबारीमै बँदेललाई मार्न सकिन्छ ।