विराटनगर । नेपाली काँग्रेसले मन्त्रीको नाम दिन नसक्दा कोशी प्रदेश सरकार विस्तार फेरि पछि धकेलिएको छ । साउनको १२ गतेसम्ममा सरकार विस्तार हुने दावी यसअघि मुख्यमन्त्री र काँग्रेस नेताहरुले गरेको भएपनि त्यो टरेको हो ।
काँग्रेस नेताहरुले भदौ १४ गते प्रदेशसभाको बैठक बस्नुअघि नै सरकारमा सहभागी हुने बताएका थिए । काँग्रेस संसदीय दलका नेता उद्धब थापाले भदौ १४ गतेका लागि बोलाइएको प्रदेशसभा बैठकमा सहभागि हुँदा आफ्ना मन्त्रीहरुसहित सहभागी हुने बताएका थिए । ‘या त मन्त्रालय फुटाएर या दुईवटा राज्यमन्त्री थपेर या पुरानै संरचनामा जे जस्तो हुन्छ त्यही हिसावले हामी सरकारमा जान्छौं’ उनले भनेका थिए, ‘ १४ गतेको प्रदेशसभाको बैठकमा काँग्रेसका मन्त्रीसहित उपस्थित हुन्छ, ।’
साउन २३ गतेदेखि सुरु भएको काँग्रेस केन्द्रीय समितिको बैठक सम्पन्न भएपछि सरकार विस्तार हुने बताइएको थियो । तर, काँग्रेसको बैठक नै भदौ १६ गतेसम्मको लागि सरेकोले सरकार विस्तार पनि टरेको नेताहरुले बताएका छन् ।भदौ ११ गतेका लागि बोलाइएको काँग्रेस केन्द्रीय समितिको बैठक प्रतिवेदनमाथिको विवादमा सहमति खोज्न भन्दै १६ गतेका लागि सारिएको छ । केन्द्रीय समितिको बैठक नसकिएसम्म सरकार विस्तार नहुने नेताहरुले बताएका छन् ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भने काँग्रेसले मन्त्रीको नाम दिने वित्तिकै सरकार विस्तार हुने दोहोर्याएका छन् । आफ्नो भागमा परेको चार वटा मन्त्रालयको मन्त्री कसलाई पठाउने भन्ने विषयमा काँग्रेसमा सहमति जुट्न नसकेकोले काँग्रेसले नाम दिन सकेको छैन ।
यसअघि काँग्रेसले मन्त्रालयको संख्या बढाएर कम्तीमा ११ बनाउनुपर्ने र आफूहरुले ५ वटा मन्त्रालय पाउनुपर्ने माग गरेको थियो । तर, मुख्यमन्त्री कार्की मन्त्रालय विभाजनको अपजस लिन तयार भएनन् । त्यसपछि काँग्रेस नेताहरुले सभापति शेरबहादुर देउवामार्फत एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई दबाब दिएर मन्त्रालय विभाजनको प्रयास गरेका थिए ।
अघिल्लो पटक आफू मुख्यमन्त्री भएकै बेला १३ वटा मन्त्रालय घटाएर ९ बनाएका मुख्यमन्त्री कार्की काँग्रेसको भाग पुर्याउनकै लागि मन्त्रालय विभाजन गर्न नहुने बताउँदै आएका थिए । उनले कार्यबोझ थपिएको अवस्थामा मन्त्रालय संख्या थप्न सकिने भएपनि अहिले नै मन्त्रालय थप नहुने बताउँदै आएका थिए ।
काँग्रेस नेताहरुले मन्त्रालय विभाजनको लागि शीर्ष नेताहरुमार्फत दबाब बढाएपछि मुख्यमन्त्री कार्की पनि काठमाडौं पुगेर नेताहरुलाई ‘कन्भिन्स’ गरेर फर्किएका छन् । प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवालाई भेटेर फर्किएपछि कार्कीले प्रदेशमा मन्त्रालय विभाजन नहुने स्पष्ट पारेका थिए । काँग्रेस ४ मन्त्रालय लिएर सरकारमा सहभागी हुने र काँग्रेस सहभागी नभए अहिलेकै अवस्थामा सरकार चलिरहने उनको भनाइ थियो ।
त्यसो त काँग्रेसले यसअघि नै ४ वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन मुख्यमन्त्री कार्कीसँग सहमति गरिसकेको थियो । चार मन्त्रालयमा २ वटा संस्थापन पक्षलाई तथा १–१ शेखर कोइराला र कृष्णप्रसाद सिटौला पक्षलाई दिने काँग्रेस संस्थापनको तयारी छ । तर, कोइराला पक्षले २ वटा मन्त्रालय हरहालतमा चाहिने बताएपछि सरकारमा सहभागी हुनेको नाम काँग्रेसले छनौट गर्न सकेको छैन ।
शेखर कोइरालाले आफ्नो समूहबाट २ मन्त्री बनाउनको लागि मन्त्रालय संख्या बढाउन एमालेसँग प्रस्ताव राखेका थिए । त्यसबारे प्रधानमन्त्री ओलीसँग पनि उनले छलफल गरेपछि काँग्रेस नेताहरुले मन्त्रालय विभाजन हुने निश्चित भएको बताएका थिए । तर, मुख्यमन्त्रको अडानको कारण त्यसबाट नेताहरु पनि पछि हटेपछि काँग्रेस ४ वटै मन्त्रालय र केहि राज्यमन्त्री लिएर सरकारमा जान तयार भएको छ ।
यसअघि दुई दिनमा, तीन दिनमा, एक हप्तामा सरकार विस्तार हुने भनेर सार्वजनिक अभिव्यक्ति दिइरहेका काँग्रेस नेताहरु अहिले भने मौन छन् । ‘भनेर के हुन्छ । पुरा नै हुँदैन,’ काँग्रेसका एक सांसदले भने ।
सरकार विस्तारको समयसीमा १२ र १३ गते भदौलाई टार्गेट गरिरहेको बेला काँग्रेस नेता डा.कोइराला सिंगापुरतिर लागेका छन् । ‘मन्त्री सिफारिस गर्ने नेता नै विदेशमा छन् कसरी मन्त्रीमण्डल विस्तार हुन्छ र’ काँग्रेसका एक नेताले भने ।कोशी प्रदेशमा हाल मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसहित ९ वटा मन्त्रालय रहेका छन् । ४० सांसद रहेको नेकपा एमालेले जसमध्ये मुख्यमन्त्रीसहित ५ वटा मन्त्रालय लिने र २९ जना सांसद रहेको नेपाली काँग्रेसले ४ वटा मन्त्रालय लिने विषयमा दुई पार्टीबीच यसअघि नै सहमति भइसकेको छ । एमालेको भागमा परेका मन्त्रालयमा मन्त्रीहरु छन् ।
काँग्रेसलाई यसअघि माओवादी केन्द्रले लिएका भौतिक पूर्वाधार विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय र पर्यटन वन तथा वातावरण मन्त्रालय तथा यसअघि खाली रहेको उद्योग, कृषि तथा सहकारी मन्त्रालय दिने समति छ । तर, काँग्रेस र एमालेबीच गठबन्धन बनेको २ महिना पुग्नलाग्दा सरकारले पूर्णता पाएको छैन ।
हिक्मत । उद्धब