विराटनगर । मोरङमा कार्य क्षेत्र रहेका २ वटा लघुवित्त संस्थाको कार्यालयमा तोडफोड र आगजनी भएको छ । दुवै घटनामा वित्तीय संस्था विरुद्धको संघर्ष समितिको संलग्नता रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कानेपोखरी गाउँपालिकामा रहेको अभियान लघुवित्त वित्तीय संस्थाको कार्यालय र बेलबारी ६ बाहुनीमा रहेको नेशनल लघुवित्त वित्तीय संस्थाको बेलबारी शाखा कार्यालयमा आक्रमण, तोडफोड र आगजनी भएको हो ।अभियान लगुबित्त संस्थाको कार्यालय तोडफोडमा रामबहादुर लिम्बुसहित १०–१२ जनाको समूह संलग्न रहेको प्रहरीले जनाएको छ । सो कार्यालयको कम्प्युटर र कार्यालयको कागजात जलाएको प्रहरीले बताएको छ । प्रहरीले तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा कानेपोखरी २ का ६५ वर्षीय रामबहादुर लिम्बु र सोही स्थानकी ३५ वर्षीय कमला मगरलाई पक्राउ गरेको छ ।
त्यस्तै नेशनल लगुबित्ता संस्थामा तोडफोड गर्न माधव गिरीसहित ३०–३५ जनाको समूह गएको प्रहरीले जनाएको छ ।
उता सिरहाको गोलबजार नगरपालिका–७ चोहर्वा गाउँमा रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालयमा पनि तोडफोड र आगजनी भएको छ । मंगलबार जीवन विकास लघुवित्तबाट ऋण लिएका महिला सदस्यहरु कार्यालय परिसरमा भेला भएकोमा उनीहरुले एक्कासि कार्यालयमा पसेर फाइल, कागजपत्रहरु माथिल्लो तलाबाट भुइँतर्फ हुर्याएका थिए ।
तल बसेकाहरुले फाइलमा आगो झोसेका थिए भने कम्प्युटरको सीपीयू, मोनिटर र सिसिटिभी क्यामराहरु पनि फुटाएको संस्थाका एक कर्मचारीले बताएका छन् । लघुवित्तमा भएको आगजनीबाट कति क्षति भयो भन्ने यकिन नभएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुनिल कार्कीले बताएका छन् । घटनाको अनुसन्धान सुरु गरिएको उनको भनाइ छ ।