डम्पिङ साइड बन्यो बिकेभिएम स्कुल पछाडिको क्षेत्र

फोहोर नठदा सरुवा रोग फैलिने डर

विराटनगर । विराटनगर–११ स्थित बिकेभिएम स्कुलदेखि दक्षिण तर्फको बस्ती क्षेत्र फोहोरले दुर्गन्धित बनेको छ । त्यहाँका सडक तथा नालामा जथाभावी स्थानीयले फोहोर फालेर त्यस क्षेत्रलाई दुगन्धित बनाएका हुन् ।
एक हप्ताभन्दा लामो समयदेखि त्यहाँ जम्मा भएको फोहोर सम्बन्धित निकायले उठाएको छैन । फोहोर सडेर दुर्गन्ध फैलिएका कारण त्यस क्षेत्रका स्थानीयमा सरुवा रोग फैलिने चिन्ता बढेको छ ।

फोहोर थुप्रिएर दुर्गन्ध भएको ठाउँबाट करिब सय मिटरको दुरीमा विराटनगर ११ नम्बरको वडा कार्यालय रहेको छ । कार्यालयकै आसपासमा फोहोरको डंगुर हुँदा सेवा लिन जाने सेवाग्राहीसमेत दुर्गन्धबाट प्रभावित हुने गरेका छन् ।
विराटनगर ११ का स्थानीय मणि दाहालले बिकेभिएम स्कुल पछाडि फालिएको फोहोरले दुर्गन्ध फैलिएको बताए । बाटो हिड्नै नसक्ने गरी दुर्गन्ध फैलिदा रोग थपिने चिन्ताले सताएको उनले बताए । ‘बाटोमा फोहरबाट आउने दुर्गन्धले सास फेर्न समेत गाह्रो हुने रहेछ,’ उनले भने, ‘यो बाटो भएर मानिस हिड्दा नाक–मुख थुनेर जानु परेको छ ।’

महानगरपालिकाले पनि फोहोर व्यवस्थापन गर्न कुनै पहल नगरेको स्थानीयको आरोप छ । ‘फोहोरको डंगुर भइसक्यो । यहाँको फोहोर उठिरहेको छैन । फोहोर फाल्नेलाई कारवाही पनि हुँदैन,’ उनले फोहोरको थुप्रो देखाउँदै भने, ‘स्कुल जाँदा पनि केटाकेटी नाक थुनेर हिड्ने गरेका छन् । अहिले पनि उस्तै छ ।’ स्थानीय जनप्रतिनिधि र महानगरपालिकालाई पटक–पटक फोहोर हटाउन आग्रह गरे पनि सुनुवाइ नभएको स्थानीयको गुनासो छ ।

फोहोर नउठेर दुर्गन्ध फैलिदा जनस्वास्थ्यमा गम्भीर असर पर्ने कोशी अस्पतालका वरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादवले बताए । दुर्गन्ध र फोहरले झाडापखाला, टाइफाइड र मलेरिया, कालाजारलगायतका रोग लाग्नसक्ने उनले बताए । ‘भाइरसस या किटाणु विभिन्न माध्यमबाट मानिसको शरीरमा प्रवेश गरेमा यी रोगहरु सर्छन्,’ उनले भने, ‘त्यसैले हामीले सरसफाइमा ध्यान दिन जरुरी छ ।’

फोहोर व्यवस्थापनको लागि विराटनगरको तीन वटा संस्थाले ठेक्का लिएको छ । नेपाल फुलबारी, स्वास्थ्य र शान्तिको लागि वातवरण नेपाल र सगरमाथा मल्टिपल सर्भिस प्रालिले ठेक्का लिएको हो । नेपाल फुलबारीले उत्तरी क्षेत्र विराटनगर १ देखि ५ नम्बर वडा र १९ गरि ६ वटाको फोहोर उठाएबापत विराटनगर महानगरपालिकाले ८८ हजार रुपैयाँ भुक्तानी गर्दै आएको छ । त्यसैगरी स्वास्थ्य र शान्तिको लागि वातवरण नेपालले ६ देखि ११ नम्बरसम्मका ५ वटा वडाको फोहोर व्यवस्थापन गरेबापत महानगरपालिबाट मासिक १ रुपैयाँ लिने गरेको छ । यस्तै ११ देखि १८ नम्बर वडा सगरमाथा मल्टिपल सर्भिसलाई महानगरपालिकाले ३ लाख रुपैयाँ भुक्तानी दिने गरेको छ ।

स्वास्थ्य र शान्तिको लागि वातावरण नेपालको कार्यक्षेत्रमा पर्ने वडाभित्र फोहरको डंगुर देखिएको हो । स्वास्थ्य र शान्तिको लागि वातवरण नेपालका संयोजक एकराज खनाल निजी जग्गामा फोहोर फाल्ने गरेको बताए । ‘हामीले थुप्रै पटक यहाँको फोहोर उठाइसक्यौं । तर, कसले फाल्छ पत्ता लगाउन नसक्दा कारवाही गर्न सकिएको छैन । हामी पनि हैरान भइसक्यौं,’ उनले भने, ‘ग्राहक नबनेकोले जथाभावी फोहोर फालेको हुनसक्छ । हामी त्यो फोहरको व्यवस्थापन गर्छौं ।’ यता विराटनगर महानगरपालिकाको सरसफाइ महाशाखा प्रमुख पुनम दाहालले जथाभावी फोहोर फाल्नेलाई कारवाही हुने बताए । ‘दुर्गन्ध फैलिने गरी फालेको फोहोर सम्झौता अनुसार ठेक्का लिएको कम्पनीले उठाउँछ । तर, जथाभावी फोहोर फाल्नेलाई महानगरपालिकाले ऐन र नियम अनुसार कारवाही गर्छ,’ उनले भने ।

मङ्गलबार, ११ भदौ, २०८१, बिहानको ०७:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर