कुम्भ मेलाको आय–व्यय सार्वजनिक गर्न माग गर्दै प्रदर्शन

धरान । सुनसरीको प्रसिद्ध तीर्थस्थल चतरामा लागेको कुम्भ मेलामा भएको आम्दानी र खर्चको विवरण सार्वजनिक गर्न स्थानीयले माग गरेका छन् । चतरा धाममा गत चैत २७ गतेदेखि वैशाख २८ गतेसम्म महाकुम्भ मेला आयोजना भएको थियो ।

मेलामा ३० लाख भक्तजन आउने अपेक्षा गरिएकोमा अपेक्षा गरे भन्दा दोब्बर भक्तजन आएको मेला आयोजक समितिले दाबी गरेको छ । मेलामा नेपालका साथै भारत, भुटान, अमेरिका, अस्ट्रेलिया, क्यानडा, नर्वे, बेलायतलगायतबाट सर्वसाधारणको सहभागिता रहेको बताइएको छ ।

कुम्भ मेलाका लागि स्थानीय, सरकार र प्रदेश सरकारले समेत आर्थिक लगानी गरेको थियो । तर, आयोजकले अहिलेसम्म कुम्भ मेलाको भएको आम्दानी र खर्चको विवरण सार्वजनिक नभएको भन्दै स्थानीयले विरोध जनाएका हुन् ।

आयोजकले मेलाको आम्दानी र खर्चबारे सूचना माग गर्दा पनि नदिएको भन्दै आइतबार स्थानीयले विवरण उपलब्ध गराउन दबाबमूलक प्रदर्शन गरेका हुन् । सूचनाको हक प्रयोग गरे निवेदन दिँदा समेत सूचना नपाएपछि स्थानीयले दबाब मूलक ¥याली निकालेको स्थानीय नवराज विष्टले बताए ।

कुम्भ मेलामा प्रचारप्रसार समितिका लागि अनुमोदित विल, गुरुभेटी शीर्षकमा भएको खर्च र विल भरपाई, पण्डाल निर्माण गर्नेलाई दिएको भुक्तानीको विवरण माग गरिएको छ । तर, आयोजक समितिले उपलब्ध नगराएको विष्टले बताए । स्थानीयले यातायातको खर्च, सिसी क्यामरा र कम्प्युटर खरिदको हिसाबसमेत माग गरेका छन् ।

कुम्भ मेला आयोजक समितिले कुम्भ मेलाको आयोजनाबाट ७९ लाख ५ हजार ८५ सय २ रुपैयाँ ८२ पैसा नाफा भएको हिसाब सार्वजनिक गरेको थियो । मेलामा २ करोड २२ लाख ७० हजार ५ सय ६ रुपैयाँ ४२ पैसा सङ्कलन भएको र १ करोड ४३ लाख ६४ हजार ६ सय ५३ रुपैयाँ ६ पैसा खर्च भएको समितिले जनाएको छ ।

सो रकम कुन–कुन शीर्षकमा कति खर्च भयो भन्ने विवरण समितिले दिएको छैन । मेलामा आएका भक्तजनहरूले रसिद काटेर आर्थिक सहयोग गर्ने गरेका थिए । महाकुम्भ मेला मूल आयोजक समितिका सहअध्यक्ष रहेका बराक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले हरहिसाब सार्वजनिक भएको दावी गर्दै सबै विवरण पनि स्मारिकमा प्रकाशन गर्ने बताएका छन् । भगवानका नाममा काम गरिरहेकोले हिसाब किताबमा कुनै समस्या नरहेको उनको दावी छ ।

आइतबार, ०९ भदौ, २०८१, साँझको ०६:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर