झापामा बालिकामाथि सामूहिक बलात्कार गर्ने ६ जना पक्राउ

विराटनगर । झापाको अर्जुनधाराकी एक १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीका अनुसार अर्जुनधारा नगरपालिका ७ मा रहेको लंका होटल एन्ड रिसोर्टका सञ्चालक लंका राजवंशीसहित ६ जना पक्राउ परेका हुन् ।

शुक्रबार राति अर्जुनधाराको हाटमा रहेको फलैचामा बालिकामाथि तीन जनाले सामूहिक बलात्कार गरेको र त्यसपछि होटलमा पुर्‍याएर बलात्कार भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न होटल सञ्चालक राजवंशीसहित अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई, अर्जुनधारा –५ का १९ वर्षीय अनिष लिम्बू, २५ वर्षीय केशव मगर, २० वर्षीय सुदीप श्रेष्ठ र सुजन डाँगी पक्राउ परेका छन् । एक जना फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अनिष, सरोज र केशवले सुरुमा हटियामा करणी गरेको प्रहरीले जनाएको छ । त्यसपछि ११ बजे लंका होटल एन्ड रिसोर्टमा बालिकालाई लगेर होटल मालिक राजवंशीसहित चारजना कामदारले करणी गरेको देखिएको प्रहरीले बताएको छ । सुदीप, सुजन र सञ्जीव होटलका कामदार हुन् ।

पीडित बालिकाले शनिबार प्रहरीमा उजुरी दिएपछि उनीहरु पक्राउ परेका हुन् । बालिकालाई फकाएर राति ८ बजेतिर हाट लाग्ने ठाउँमा लगेपछि बलात्कार गरेको र त्यसपछि होटलमा पुर्‍याएर पुनः बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

बलात्कारबाट पीडित भएकी बालिकाको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । पक्राउ परेकाविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गर्ने प्रहरीको तयारी छ ।

आइतबार, ०९ भदौ, २०८१, बिहानको १०:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर