विराटनगर । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोशी प्रदेश सरकारमा सहभागी हुने निर्णय गरिसकेको नेपाली कांग्रेसले प्रमुख प्रतिपक्ष दलको सुविधा लिइरहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै नेता आङ्बोले कोशी प्रदेशमा राजनीतिक रुपमा नेकपा एमाले र नेपाली कांग्रेसकै संयुक्त सरकार रहेको दाबी गरेका छन् । उनले लेखेका छन् ‘राजनैतिक रुपमा कोशी सरकार एमाले कांग्रेसको संयुक्त सरकार नै हो तैपनि आजका दिनसम्म कांग्रेसले प्रमुख प्रतिपक्षको हैसियत र सुविधा लिइराखेकै छ ।’
नेता आङ्बोले नेपाली कांग्रेस सरकारमा औपचारिक रुपमा सहभागी नहुनु उसको आन्तरिक कारण भएको दाबी गरेका छन् । गुट व्यवस्थापन र मन्त्रालय विभाजनमा कुरा नमिलेकै कारण कांग्रेस सरकारमा सहभागी नभएको उनको जिकिर छ । उनी भन्छन् ‘गुट व्यवस्थापन र मन्त्रालय विभाजनमा कुरा नमिलेर मात्र कांग्रेस सरकारमा सहभागी नभएको हो ।’
विगतमा सरकारलाई समर्थन गरेर पनि प्रमुख प्रतिपक्ष दलको हैसियत र सुविधा लिएको स्मरण गर्दै उनले अहिले सरकारलाई समर्थन कायम राखेको बहानामा नेकपा माओवादी केन्द्रलाई प्रमुख प्रतिपक्ष दलको हैसियत दिन नचाहेको आरोप उनले लगाएका छन् । नेता आङ्बोले घुमाउरो भाषा प्रयोग गर्दै त्यस्तो आरोप लगाएका हुन् । उनी भन्छन् ,‘एमालेले तत्कालीन मुख्यमन्त्री केदार कार्कीलाई सरकार बाहिर बसेर समर्थन दिइराखेरै प्रमुख प्रतिपक्षी दलको हैसियत र सुविधा लिएको थियो ।’ यद्यपि उनले नेकपा माओवादीलाई अहिले नै प्रमुख प्रतिपक्षी दलको सुविधा भने आवश्यक नपरेको पनि बताएका छन् । ‘कतै भ्रम नहोस् माओवादील आजको दिनसम्म प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलको हैसियत र सुविधाको दाबी गरेको छैन र गरिराख्न जरुरी पनि छैन, सरकारलाई दिएको समर्थन बोर उचित समयमा निर्णय गरिने छ,’ उनले लेखेका छन् ।
मन्त्रिपरिषदलाई पूर्णता दिने क्रममा प्रदेश सरकारको दीर्घकालीन दायित्व र व्ययभार घटाउन र सुशासन कायम गर्न पहिले विभाजन गरिएका मन्त्रालयहरु एकीकृत(मर्ज) गर्दा ऐतिहासिक सफलता हासिल गरेको दाबी गर्नुभएका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रतिबद्धता कायम राख्ने अग्नी परीक्षा पनि सुरु भएको नेता आङ्बोले बताएका छन् । उनले कांग्रेसभित्रको गुटगत कलह व्यवस्थापनको दबाबमा मन्त्रालय विभाजन हुनसक्ने आशंका गर्दै मुख्यमन्त्रीको भूमिकालाई जनताले नजिकबाट नियालिरहेको पनि बताएका छन् । आङ्बो अन्त्यमा लेख्छन्, ‘दीर्घकालीन दायित्व र व्ययभार घटाउन र सुशासन कायम गर्न विभाजित मन्त्रालय एकीकृत(मर्ज) गरेर ऐतिहासिक सफलता हासिल गरेको औपचारिक दाबी गर्नुहुने माननीय मुख्यमन्त्री ज्यूको अग्नी परीक्षा सुरु भएको छ, कांग्रेसभित्रको गुट र कलह व्यवस्थापनको दबाबमा मन्त्रालय विभाजन गर्नुहुन्छ या तपाईंले ठूलो सफलता दाबी गर्नुभएको आफ्नो मान्यता मन्त्रालयको मर्जमा अडिनुहुन्छ, प्रदेशवासीले नजिकैबाट नियालिराखेका छौं है !’



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।