विराटनगर । भारतबाट नेपालतर्फ चप्पल तस्करी हुने गरेको पाइएको छ । मोरङको पूर्वी दक्षिण सीमाक्षेत्रबाट भारतीय नगरिकले चप्पल तस्करी गरी पूर्वी सहरमा बिक्री गर्ने गरेको पाइएको हो ।
मोरङको रंगेलीमा अवैध चप्पल भण्डारण गरेर राखिएको घरमा प्रहरीले बिहीबार दिउँसो छापामारेर ठूलो परिमाणमा तस्करीको सामान नियन्त्रणमा लिएपछि यस्तो रहस्य बाहिर आएको हो । रंगेलीका अलगअलग दुई स्थानका भण्डारण गरिएको अवस्थामा १६ लाख रुपैयाँ मूल्य बराबरको चप्पल इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले बरामद गर्यो । रंगेली नगरपालिका–३ आमतोला र रंगेली–८ दर्वेसामा छापामारेर चप्पल बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । आमतोलास्थित नजिया खातुनको घरको कोठाबाट ११ लाख मूल्य बराबरको १६ बोरा र दर्वेसास्थित यज्ञ अग्रवालको घरको कोठाबाट ५ लाख बराबरको ६ बोरा चप्पल बरामद भएको उनले बताए ।
उनका अनुसार एउटा बोरामा ३ सयदेखि ६ सय जोडीसम्म चप्पल भेटिएका छन् । जम्मा ८ हजार जोडी चप्पल बरामद भएको जानकारी बस्नेतले दिए । अवैध धन्दा चलाइरहेका व्यक्तिले खातुन र अग्रवालको घरको कोठा भाडामा लिएर विभिन्न ब्राण्डका चप्पलको तस्करी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रारम्भिक अनुसन्धानबाट तस्करीमा घरधनीको संलग्नता भने नदेखिएको प्रहरीले जनाएको छ । चप्पल तस्करीमा संलग्नको पहिचान नखुलेको डीएसपी बस्नेतले बताए । प्रहरीका अनुसार नाम, थर र वतन नखुलेका बंगाली भनेर चिनिने व्यक्तिले भन्सार छली गरेर विभिन्न ब्राण्डका चप्पल तस्करी गरी घरको कोठा भाडामा लिएर भण्डारण गरी राखेको सूचना आएको थियो ।
ती व्यक्तिले ५ महिना अघिदेखि घर भाडामा लिएर भारतबाट चप्पल तस्करी गरेर नेपाल भित्र्याउने गरेको प्रहरीको भनाइ छ । प्रहरी आएको थाहा पाएर छापामार्दा तस्करीको धन्दा चलाइरहेका व्यक्ति भने फरार बनेका थिए । उनको खोजी भइरहेको डीएसपी बस्नेतले बताए । बरामद भएका चप्पल आवश्यक अनुसन्धान र कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइने जानकारी उनले दिए ।
यसरी पत्ता लाग्यो गोदाम
सुरक्षामा खटिएका प्रहरीलाई बिहान मोरङको धनपाथालन गाउँपालिका २ बेतनामा देखपछि अवैध रुपमा चप्पल ल्याउने कारोबारी साइकल छोडेर फरार भए । उनले उक्त साइकलमा २०० जोर चप्पल ल्याएका थिए । ‘एकाबिहानै कहाँबाट यत्रो चप्पल ल्लायो भनेर खोजबिन गर्दै जाँदा रंगेली नगरपालिका–३ आमतोला र रंगेली–८ दर्वेसामा गोदामा रहेको थाहा भयो । त्यसपछि गोदाममा छापा हानेर १६ लाख रुपैयाँ बराबरको चप्पल बरामद गरिएको हो,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘भन्सार छलेर क्यारिङ मार्फत थोरै थोरै गर्दै भण्डरण गरेको पाइएको छ । ’