लोड हुँदैछ...

मेनु

कपडाको क्यारिङ गर्ने महिला पक्राउ

कपडाको क्यारिङ गर्ने महिला पक्राउ

विराटनगर । भन्सार छलेर भारतबाट विराटनगरतर्फ लत्ताकपडा ओसारपसार (क्यारिङ) गर्ने एक जना महिला ७ महिनापछि पक्राउ परेकी छन् । मोरङको सुन्दरहरंैचा नगरपालिका–८ घर भएकी दुर्गा घिमिरे पक्राउ परेकी हुन् । उनी चोरी पैठारी मुद्दामा फरार थिइन् ।

उनीविरुद्ध ७ माघ २०८० मा विराटनगर भन्सार कार्यालयले पक्राउ पूर्जी जारी गरेको थियो । लामो समयसम्म पनि उनी पक्राउ नपरेपछि उक्त घटनामा पीडित भएका एक जना सवारी चालकले उनलाई प्रहरी समक्ष जिम्मा लगाएका हुन् । विराटनगर ७ का ४२ वर्षीय जयकुमार राईसहित उनका आफन्तले सोमबार सुन्दरहरैंचा ८ स्थित घिमिरेको घरबाटै समातेर इलाका प्रहरी कार्यालय बेलबारीमा जिम्मा लगाएका थिए ।

भारतबाट तस्करीको सामान क्यारिङ गर्दै आएकी घिमिरेले ९ कार्तिक २०८० मा दुई जना व्यक्तिमार्फत प्रदेश १–०४–००१ च ०११० नम्बरको बोलेरो भाडामा लिएकी थिइन् । विराटचोकसम्म सामान ढुवानी गर्नका लागि भनेर उनीहरुले राईको उक्त बोलेरो पिकअप रिजर्भ गरेका थिए । सामान लोड गर्ने बेलामा उनले बिलबिजक पनि हेरेका थिए । भन्सार बिल बिजक भएका कारण उनले सहजै सामान लोड गरे । बिलबिजक पनि भएको र गुडिया बनाउने सामान उल्लेख भएकोले उनले सामान नहेरी गाडीमा लोड गरेको बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी बताए ।

विराटनगरको गुद्रीबाट लोड गरेको सामान कन्चनबारी पुग्नासाथ सशस्त्र प्रहरीले नियन्त्रणमा लियो । त्यसपछि भन्सार छलिगरेको सामान भन्दै गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएर भन्सारमा बुझाइदियो । ‘प्रहरीले नियन्त्रणमा लिएपछि मात्र मैले भन्सार छलेको सामान रहेछ भन्ने थाहा पाएँ,’ राईले भने ‘म अनाहकमा फस्न पुगें, मैले बिल हेर्दाहेर्दै पनि तस्करीको सामान भएको थाहा नपाउँदा दुःख पाउनु प¥यो, यसरी मलाई फसाउने व्यक्तिलाई खोजेर आफैंले समातेर प्रहरीको जिम्मा लगाएको छु, मलाई न्याय मिल्छ होला !’

सशस्त्र प्रहरीले त्यसबेला ७ लाख ५० हजार रुपैयाँ मूल्य बरावरको ८३४ थान कुर्तासलवार पिकअप गाडीबाट बरामद गरेको थियो । प्रहरीले नियन्त्रणमा लिएसँगै गाडीमा सामान लोड गरेका दुवै जना केटाहरु भागेका थिए । सशस्त्र प्रहरीले पिकअप गाडीसहित राईलाई विराटनगर भन्सार कार्यालयमा बुझायो । नियन्त्रणमा परेको चार दिनपछि राईका परिवारले ऋण खोजेर १३ कार्तिक २०८० मा ८ लाख ५० हजार ६ सय रुपैयाँ धरौटी बुझाएर रिहा भए । उनको गाडी अहिले पनि भन्सार कार्यालयकै नियन्त्रणमा रहेको छ ।

भन्सार कार्यालयले कपडा क्यारिङ गर्ने व्यक्ति घिमिरेलाई पक्राउ गर्न सघाएमा राईलाई सजाय माफि मिनाहा गराउन पहल गरिदिने बताएपछि उनले खोजेर उनलाई प्रहरीको जिम्मा लगाएका हुन् । राई धरौटिमा रिहा भएको १० महिनापछि क्यारिङ गर्ने घिमिरेलाई पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएका थिए ।
प्रहरीले घिमिरेलाई बुधबार विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।

चालकद्वारा न्यायको अपिल

क्यारिङ गर्ने महिलालाई पक्राउ गरी प्रहरी समक्ष जिम्मा लगाएपछि जयकुमार राईसहित उनका परिवारले न्यायोचित न्यायको लागि माग गरेका छन् । विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी उनीहरुले धरौटी रकम फिर्ता पाउनुपर्ने र भन्सारमा रहेको गरिखाने पिकअप फिर्ता गरिदिन आग्रह गरेका हुन् ।

‘भएको यही गाडीले परिवार पाल्दै आएको थिएँ । यही पिकअप भेन चलाएर दैनिक गुजरा चलाउँदै आएको थिएँ अहिले हाम्रो बिचल्ली भएको छ,’ उनले भने । ‘बिलबिजकसहित सामान लिएर आएपछि लोड गरेर गन्तब्यसम्म जार्दै गर्दा मलाई फसाएर भन्सार छली गरेको सामान लोड गरेका रहेछन् । यसमा मेरो के गल्ती भयो र ? ऋण खोजेर भन्सारले भनेको धरौटी रकम बुझाएको छु । त्यसपछि भन्सारले कपडा धनीलाई नियन्त्रणमा लिएर बुझाए सजायमा केही हेरिदिने भनेकाले मैले १० महिना खोजेर उनलाई पनि प्रहरीको जिम्मा लगाइदिएको छु,’ उनले भने, ‘मेरो अहिले एउटै माग मेरो धरौटी रकम र खरिखाने गाडी फिर्ता दिलाइदिनुहोस् भन्ने मात्र छ ।’

क्यारिङ गर्ने महिलाले राईलाई विभिन्न प्रलोभन दिएकी थिइन् । तर राई प्रलोभनमा नपरी उनलाई प्रहरीको जिम्मा लगाइदिए । ‘ उनले धरौटी रकम फिर्ता दिने र भन्सार बुझाएको गाडी पनि निकालिदिने वडा कार्यालयमा बसेर लिखित सहमति पनि गरेकी थिइन् । ‘हामी पनि सोझा मान्छे होला नि भनेको थियौं । तर, १० महिना भयो । हाम्रो गरिखाने गाडी नै निकालिदिएन । क्यारिङ गर्ने मानिसलाई घिमिरेले अत्याचार गरेपछि हामी पनि बाध्य भएर घरमा पुगेर प्रहरीको जिम्मा लगाएका हौं,’ राईले भने ‘हामी गरिब मान्छेलाई न्याय दिनुपर्यो ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।