ग्रिनक्रस हस्पिटल संकटमा : सुरक्षा गार्डको पारिश्रमिक दिन आलटाल

करार सम्झौता अनुसार भुक्तानी दिनुपर्ने अदालतको फैसला

विराटनगर । मोरङ जिल्ला अदालतले ग्रिनक्रस हस्पिटलमा ९ वर्ष अगाडि काम गरेका १३ जना सुरक्षागार्डको बक्यौता पारिश्रमिक बापतको रकम भुक्तानी दिनुपर्ने फैसला गरेको छ । हस्पिटलले श्रमिकले काम गरेबापत पाउनु पर्ने २ लाख ५० हजार रुपैयाँ भन्दा बढी रकम भुक्तानी नदिएपछि अदालतमा मुद्दा परेको थियो । लामो समय पारिश्रमिक दिन आलटाल गर्दै आएको हस्पिटललाई अदालतको आदेशपछि रकम भुक्तानी दिनुपर्ने बाध्यता छ ।

विराटनगरमा रहेको विराट गोर्खा सेक्युरिटी प्रालिसँग हस्पिटलले करार सम्झौता गरेर १३ जना सुरक्षाकर्मीलाई काम लगाएबापत २ लाख ७५ हजार ७६३ रुपैयाँ भुक्तानी दिन हस्पिटलले वर्षौदेखि आलटाल गर्दै आएको छ ।

तत्कालीन संचालक विराटनगरका चर्चित फिजिसियन डा. दिपक सिग्देलसहित १४ जना संचालक रहेको बेला सुरक्षा गार्डकलाई दुई महिनाको पारिश्रमिक भुक्तानी दिनुपर्ने बाँकी देखिएको हो ।

२०६८ साल जेठ २७ गते विराट गोर्खा सेक्युरेटी प्रालिसँग सम्झौता भएपछि हस्पिटलको सुरक्षाको लागि १३ जना सुरक्षा गार्ड ड्युटीमा खटिएका थिए । उनीहरुलाई मासिक ८ हजार रुपैयाँ तलब दिने सर्तमा विराट गोर्खा सेक्युरेटिसँग करार सम्झौता भएको थियो । सम्झौता अनुसार २०७३ साल असार मसान्तसम्मको सुरक्षा गार्डले तलब नपाएको प्रालिका संचालक रामकुमार श्रेष्ठले बताए । त्यसबेला संचालकहरुबीच विवाद भएपछि डा. दिपक सिग्देलले ग्रिनक्रस छोडेर सप्तकोशी हस्पिटल गएका थिए । त्यसपछि अहिले नयाँ व्यवस्थापनको साथ कृष्णकुमार खवासले हस्पिटल चलाउँदै आएका छन् । करार सम्झौता अनुसार सुरक्षा गार्डको तलब नपाएपछि गोर्खा सेक्युरिटी प्रालिका संचालक श्रेष्ठले ग्रिनक्रस हस्पिटल, हस्पिटलका तत्कालीन संचालक कृष्ण खवास र  डा. दिपक सिग्देललाई विपक्षी बनाएर २०७९ जेठ १२ गते मोरङ अदालतमा करार बमोजिमको तलब रकम भराई पाऊ भनेर मुद्दा दायर गरेका थिए ।

अदालतमा मुद्दा दायर भएको दुई वर्षपछि मोरङ अदालतका न्यायाधीश राजेश्वर अर्यालले हस्पिटललाई करार सम्झौता बमोजित सुरक्षा गार्डको तलब दिनुपर्ने भन्दै २०८१ जेठ २४ गते फैसला गरेको छ ।

अदालतले गरेको फैसला दुई महिना बितिसक्दा पनि अहिलेसम्म सुरक्षा गार्डले काम गरेबापतको पारिश्रमिक हस्पिटलबाट नपाएको विराट गोर्खाका संचालक श्रेष्ठले बताए । ‘अदालतले फैसला गरेपछि सुरक्षागार्डको पारिश्रमक दिनुपर्यो भन्दै हस्पिटल गयौं । अहिले नयाँ व्यवथापनमा हस्पिटल संचालन भएको रहेछ । अदालतको फैसला आएपछि भने नयाँ व्यवस्थापनले आधा मात्रै पैसा दिन सकिने बताइरहेको छ । हामीले सम्झौता अनुसार सुरक्षा गार्डले काम गरेको पैसा दिनुपर्छ भन्दै आएका छौं,’ उनले भने, ‘तर, अहिलेसम्म पैसा पाइएको छैन ।’

नयाँ व्यवस्थापनको जिम्मेवारी खवासले लिएका छन् । तर पनि अस्पतालको आर्थिक अवस्थामा भने सुधार देखिएको छैन । अहिले पनि कर्मचारीहरुलाई हस्पिटलले मुस्किलले मात्र तलब दिनसक्ने अवस्था रहेको त्यहाँ कार्यरत एक कर्मचारीले बताए । ‘२–३ महिनादेखि हामीले काम गरेको पारिश्रमिक पाएका छैनौं, तर पनि काम नियमित गर्दै आएका छौं ।’

यता हस्पिटलका संचालक कृष्ण खवासले पुरानो हिसाब भएको कारणले छलफल गरेर विराट गोर्खा सेक्युरेटी कम्पनीलाई भुक्तानी गर्ने बताए । ‘यो पुरानो हिसाब हो । विराट गोर्खा सेक्युरेटी कम्पनीका संचालकसँग मेरो कुराकानी पनि भइरहेको छ । हामीले नदिने भनेका छैनौं । पुरानो हिसाब भएकोले छलफल गरेर सहमतिमा एउटा निश्कर्षमा निकालौं भनिरहेका छौं,’ उनले भने ।

बुधबार, ०५ भदौ, २०८१, बिहानको ०८:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर