विराटनगर । अदालतको आदेश अनुसार दोषी ठहर भएपछि विराटनगरको बाल सुधारगृहबाट राखिएका दुई बालक भागेका छन् ।
जिल्ला अदालतको फैसला र आदेश अनुसार सुधारगृहमा राखिएका सुनसरी घर भएका १६ वर्षीय २ जना बालक मंगलबार दिउँसो सुधार गृहको पर्खाल नाघेर भागेका हुन् ।
कर्तव्य ज्यान तथा डाँका मुद्दामा सजाय तोकिएका एक जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि सुधारगृहमा रहेका बालक फरार भएको मोरङ प्रहरीले जनाएको छ । फरार भएका कोशी गाउँपालिकाका बालकलाई कर्तव्य ज्यान र डाका मुद्दामा अदालतले १२ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो भने बराहक्षेत्र नगरपालिका–११ घर भएका बालक जबर्जस्ती करणी मुद्दामा गत असार २८ गतेबाट पुर्पक्षका लागि सुधारगृहमा थिए ।
सुधारगृहका प्रमुख मिलन चौहानका अनुसार सुधारगृहभित्र रहेको विद्यालयमा अतिरिक्त क्रियाकलाप चलिरहेका बेला दुबै जना दिउँसो ३ बजेतिर भागेका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले फरार भएका बालकहरुको खोजी भइरहेको जानकारी दिएका छन् ।
विराटनगरस्थित बाल सुधारगृहको क्षमता ५० जनाको रहेपनि २३८ जनालाई राखिाएको छ । सुधार गृहमा १८ वर्षभन्दा धेरै उमेरकालाई पनि राखिएको छ । सुधारगृहभित्र १८ वर्षमाथिका १ सय २४ जना रहेका छन्।
सुधारगृहको सुरक्षाका लागि प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १३ जना प्रहरी परिचालन गरिएको हुन्छ ।