टिकटकको आठौं पत्रपछि प्रतिबन्ध हटाउने तयारीमा सरकार

काठमाडौं । प्रतिबन्धको ८ महिनापछि सरकारले टिकटकमाथिको प्रतिबन्ध खुलाउने तयारी गरेको छ । चिनियाँ मल्टिमिडिया प्लेटफर्म टिकट खुलाउने संकेत सरकारले गरेको छ । सिंगापुरस्थित टिकटकको कार्यालयले नेपालको सबै नियम–कानुन मान्न तयार रहेको र त्यहीअनुसार नियमन गर्दा हुने आशयको पत्र पठाएपछि सरकारले टिकटकमाथिको प्रतिबन्ध खुलाउने तयारी गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आवश्यक परामर्श र छलफल अघि बढाएका छन् । मन्त्री गुरुङको सचिवालयका अनुसार टिकटकले नेपालको कानुनअनुसार सम्बन्धित निकायमा दर्तादेखि करसम्बन्धी कानुन पनि मानेर अघि बढ्ने प्रतिबद्धता जनाएपछि प्रतिबन्ध हटाउने गरी छलफल थालिएको हो ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदले २०८० कात्तिक २७ गतेको निर्णयबाट टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

केपी शर्मा ओली क्याबिनेटले फेरि टिकटकलाई खुलाउने निर्णय लिन लागेको हो । टिकटकले पछिल्लो पटकसहित आठौं पत्र सरकारलाई पठाएको थियो । उसले नेपालमा दर्ता हुन तयार रहेको, नेपालको कानुन पनि तयार रहेको जनाउ दिएपछि अब प्रतिबन्ध हटाउनेतर्फ सरकार अघि बढेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई टिकटकले पछिल्लो पटक पठाएको पत्रका आधारमा मन्त्री गुरुङ पनि प्रतिबन्ध खुलाउन लचिलो भएका हुन् । अब सरकारले तीन महिनाभित्र सूचीकरण गरिसक्नुपर्ने गरि प्रतिबन्ध हटाउने तयारी थालेको छ । त्यसका लागि क्याबिनेटमा प्रस्ताव लैजाने गरी तयारी थाल्न सञ्चारमन्त्री गुरुङले कर्मचारीलाई निर्देशन दिएका छन् ।

मङ्गलबार, ०४ भदौ, २०८१, साँझको ०६:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर