दुई मन्त्रीले सोलुखुम्बु पुगेर हस्तान्तरण गरे ५० थान सिरक !

विराटनगर । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ को थामेमा गत शुक्रबार आएको बाढीबाट विस्थापित भएकाहरुको लागि कोशी प्रदेश सरकारका दुई मन्त्रीसहितको जम्बो टोली डेढ लाख रुपैयाँ बराबरको राहत बोकेर सल्लेरी पुगेको छ ।

बाढी प्रभावितका लागि सिरक, म्याट्रेस र तन्ना बोकेर प्रदेश सरकारका दुई मन्त्रीसहित १४ जनाको टोली सदरमुकाम सल्लेरी पुगेको हो ।

कोशी सरकारका खानेपानी सिंचाई तथा उर्जामन्त्री एकराज कार्की र आन्तरिक मामिला तथा कानुन मन्त्री लिलावल्लव अधिकारीसहित १४ जनाको टोली डेढ लाख रुपैयाँ बराबरको राहत बोकेर सोलुखुम्बु पुगेको हो । टोलीले ५० थान सिरक, ५० थान म्याट्रेस र ५० थान तन्ना बोकेर सोलुखुम्बु पुगेको थियो । विराटनगरबाट दुई दिनअघि हिँडेको टोलीमा प्रदेश सरकारका कर्मचारी, सुरक्षाकर्मी र एमालेका कार्यकर्तासमेत छन् ।

आइतबार साँझ सोलुखुम्बु पुगेको टोलीले सोमबार बिहान सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीलाई राहत सामग्री हस्तान्तरण गरेका छन् । प्रमुख जिल्ला अधिकारी पाण्डेले स्थानीयका पीडितलाई तत्काल चाहिने र अतिआवश्यक बस्तु माग गरिएको भएपनि त्यस अनुसारका सामग्री प्राप्त नभएको बताएकी छन् ।

गत शुक्रबार खुम्बु क्षेत्रको थामे बस्तीभन्दा करिव ७ किलोमिटर माथि रहेका दुईवटा हिमताल फुट्दा थामे खोलामा भीषण बाढी आएको थियो । अचानक आएको लेदो सहितको बाढीले थामे बस्ती बगरमा परिणत भएको छ भने बस्तीका ४५ घर परिवार बाढीबाट बिस्थापित भएका छन् ।

खुम्बु पासाङ ल्यामु गाउँपालिकाले घर पूर्ण रुपले क्षति भएका १५ परिवारको बसोबासका लागि ५० हजार रुपैयाँ उपलब्ध गराएको थियो । त्यस्तै आंशिक क्षति भएका ३० घर परिवारलाई प्रतिपरिवार १० हजार रूपैयाँ उपलब्ध गराएको छ । बस्तीमा रहेका स्थानीय घर बस्न लायक नभएकोले उनीहरुलाई अन्यत्र पुनःस्थापना गर्नुपर्ने देखिएको छ । विस्थापितहरुलाई खाद्यान्नसहितका सामग्रीको पनि अभाब रहेको स्थानीय प्रशासनले जनाएको छ ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार बाढीबाट विस्थापित भएका पीडितका लागि खाद्यान्न, औषधिसहितका अतिआवश्यकीय वस्तु उपलब्ध गराउन प्रशासनले प्रदेश सरकारलाई पत्राचार गरेको थियो । ‘प्रदेशका मन्त्रीज्यूहरुले हामीले मागेको र यहाँको आवश्यकता अनुसारको सामग्री ल्याउनु भएनछ’ उनले भनिन्, ‘५०–५० थान सिरक, सिरानी र तन्ना सामग्री हामीलाई हस्तान्तरण गरेर फर्कनु भएको छ ।’

प्राप्त भएको सामग्रीको मूल्य करिब डेढ लाख रुपैयाँ पर्ने जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । ती सामग्री बोकेको गाडी भने आइतबार नै सल्लेरीमा सामान छाडेर फर्किएको थियो । मन्त्रीहरुसहितको तीन वटा गाडीमा रहेको टोली पछिपछि सल्लेरी पुगेको हो ।सल्लेरीमा प्राप्त भएको राहत सामग्री होलिकप्टरबाट एयरलिफ्ट गरेर थामे पठाउनुपर्ने उनले जानकारी दिइन् ।

राहत हस्तान्तरण गर्दै मन्त्री अधिकारीले स्थानीय तह र संघीय सरकारसँगको सहकार्यमा थामेका बाढी प्रभावितहरूलाई पुनः स्थापनाका लागि प्रदेश सरकारले पहल गर्ने बताएका छन् । मन्त्री कार्कीले बाढी प्रभावित थामे बासिन्दालाई खाने पानी आपूर्तिका लागि सर्भे गर्न प्राविधिक पठाइने र पुनः स्थापना भएको ठाउँमा खानेपानी आपूर्ति गर्ने योजना रहेको सुनाएका थिए ।

पीडितलाई तत्काल राहत चाहिएको भएपनि खराब मौसमको कारण हेलिकप्टर पनि सञ्चालन गर्न नसकेको प्रजिअ पाण्डेले जानकारी दिएकी छन् । ‘एक पटकमा हेलिकोप्टरबाट ३०० केजीभन्दा धेरै तौलका सामग्री लैजान पनि अफ्ठेरो छ’ उनले भनिन् ।

सल्लेरी पुगेका मन्त्रीहरु हेलिकोप्टरबाट नाम्चेसम्म जाने तयारीमा थिए । तर, मौसम प्रतिकुल बनेपछि उनीहरु ओखलढुंगा र खोटाङ हुँदै विराटनगर फर्कने तयारीमा रहेको सचिवालयले जनाएको छ ।

बाढीले बगाएका १५ घरका स्थानीय अहिले माथिल्लो थामे क्षेत्र (थामे थिङ)मा आफन्त र छिमेकीको घरमा सहारा लिएर बसिरहेका छन्  । सामुदायिक भवन, गुम्बा र अन्यन्त्र बस्दा खानबस्नको समस्या भएपछि बाढीपीडितहरु आफन्त र छिमेकीको शरणमा पुगेका हुन् ।

मङ्गलबार, ०४ भदौ, २०८१, बिहानको ११:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर