काठमाडौं । पूर्वडीआईजी रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । युवराज सफलले खरेलविरुद्ध अख्तियारमा आइतबार उजुरी दर्ता गराएका हुन् ।
‘पूर्वडीआईजी रमेश खरेलविरुद्ध अहिले भर्खरै नक्कली सुराकी श्रीमतीलाई लाखौँ सुराकी कमिसन दिएकाले अनुसन्धान गरि आवश्यक कारबाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय ,टंगालमा उजुरी दर्ता गरेको छु’, युवराजले भनेका छन्, ‘२०४६ सालपछि नक्कली सुराकी खडा गरि करोडौं रुपैयाँ कमिसन खानेहरूबाट रकम असुल गरि राज्यकोषमा ल्याउन मागसमेत गरेको छु ।’
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई भ्रष्टाचार आरोप लगाउँदै खरेलले पनि उजुरी दिएका थिए । खरेलले यसअघि साउन २९ मा प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।
घिसिङले दुई कार्यकाल विद्युत् प्राधिकरणको प्रबन्धक निर्देशकका रुपमा काम गर्दा भ्रष्टाचार गरेको भन्दै उनले उजुरी दिएका थिए । कुलमानले राज्यलाई करोडौँ रुपैयाँ घाटा हुने गरी विद्युत्को पीपीए गरेको जिकिर खरेलको थियो ।