विराटनगर । विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापालाई पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने नेकपा एमाले मोरङको निर्णयलाई प्रदेश कमिटिले अनुमोदन गरेको छ । शनिबार बसेको पार्टीको कोशी प्रदेश कमिटिको बैठकले थापासहित महानगर कमिटिका उपसचिव नवराज नेपाल र विराटनगर ३ का अध्यक्ष लालमणि भट्टराईमाथिको कार्वाही अनुमोदन गरेको हो ।
प्रदेश कमिटिको बैठकले तीनै जनालाई पदमुक्त गर्ने निर्णय अनुमोदन गर्दै थापालाई २ महिना, नेपाललाई ४ महिना र भट्टराई ६ महिना पार्टीको सदस्यबाट पनि निलम्बन गर्ने निर्णय गरेको छ ।थापामाथि कार्वाही गर्ने जिल्ला कमिटिको निर्णय प्रदेशबाट अनुमोद भएसँगै थापाले आफूलाई एमालेले पार्टीमा नबस भनेको प्रतिक्रिया दिएका छन् । ‘मलाई एमालेले पार्टीमा नबस भन्यो’ उनले सामाजिक सञ्जाल फेसबुकमा प्रदेशको निर्णयलगत्तै लेखेका छन् । पार्टीको जिल्ला र प्रदेशको निर्णयबाट मानगढ खानेपानी आयोजनालाई एमालेको भातृ संगठनको रुपमा थपिएको भन्दै उनले असन्तुष्टि जनाएका छन् । आगमी दिनमा के गर्ने भन्नेबारे कार्यकर्ताहरुसँग थप सल्ला गर्ने उनको भनाइ छ ।
मानगढ खानेपानी आयोजनाको निर्वाचनलाई बहाना बनाइएको भएपनि थापामाथिको कार्वाही नेकपा एमालेका असन्न जिल्ला अधिवेशनसँग जोडिएको एमाले कार्यकर्ताहरु बताउँछन् । नेकपा एमाले मोरङमा पछिल्लो समयमा पूर्वजिल्ला अध्यक्ष विनोद ढकालसँग नजिक मानिएकाहरुमाथि कार्वाहीको डण्डा चलिरहेको छ । पार्टी नेतृत्वको चाहना विपरित प्रदेश अध्यक्षमा ढकाल उम्मेदवार बन्दा उनलाई साथ दिएकाहरुमाथि पार्टीको वर्तमान प्रदेश अध्यक्ष घनश्याम खतिवडा र निवर्तमान जिल्ला अध्यक्ष पोखरेलको योजनामा कार्वाही भइरहेको छ ।
खानेपानी आयोजनामा पार्टीको आधिकारिक उम्मेदवार रामबहादुर घिमिरेलाई सहयोग नगरेको भन्दै थापासहित तीन जनामाथि यसअघि जिल्ला कमिटिले कार्वाही गरेको थियो । त्यसविरुद्ध थापाले प्रदेश कमिटिमा पुनरावेदन गरेपछि प्रदेशले सचिवको नेतृत्वमा छानविन समिति बनाएकोमा जिल्लाकै निर्णय सदर गरेको छ ।
त्सो त थापामाथिको निर्णय प्रदेशबाट अनुमोदन हुनु अगाडि नै नेकपा एमालेले जिल्ला कमिटि सदस्य मुकेश बुढाथोकीसहित तीन जनालाई पनि जिम्मेवारीबाट हटाएको छ । अधिवेशन आयोजना गर्न निर्वाचित जिल्ला कमिटीलाई आयोजक कमिटीमा रुपान्तरण गर्ने क्रममा साविकका जिल्ला सदस्य बुढाथोकीलगायत तीन सदस्यको जिम्मेवारी खोसिएको हो ।
गएको अधिवेशनबाट ऋषिकेश पोखरेलको अध्यक्षतामा गठन भएको २६७ सदस्यीय मोरङ जिल्ला कमिटी केही महिनाअघि बाबुराम कार्कीलाई हस्तान्तरण गर्दा १२ स्थान रिक्त थियो । रिक्त पदपूर्तिसँगै एमालेले ४४ जना सदस्य थप गरी २९९ सदस्यीय आयोजक कमिटी गठन गरेको छ ।
आयोजक समितिमा थप भएका ४४ जनाको शपथका लागि शुक्रबार एमालेले पार्टी कार्यालयमा औपचारिक कार्यक्रम आयोजना गरेको थियो । तर, कार्यक्रममा अधिवेशबाट निर्वाचित जिल्ला सदस्यहरु मुकेश बुढाथोकी, प्रभात खवास र नविन कार्कीलाई खबर गरिएन । आयोजक समितिमा थपिएकालाई मात्र सपथ गराउनुपर्नेमा २९९ जनालाई नै शपथ गराइयो ।
कार्यक्रममा खबर नै नपाएका बुढाथोकी, खवास र कार्की बर्खास्तीमा परेका छन् । कार्यसमिति स्वतः आयोजक कमिटीमा रुपान्तरण हुनुपर्ने विधानको व्यवस्था मिच्दै सबै सदस्यलाई शपथ गराएको भन्दै मुढाथोकीले कार्यक्रममै पुगेर विरोध जनाएका थिए । तर, त्यसको कुनै सुनुवाइ भएन ।
पार्टीका भर्खरै केन्द्रीय उपाध्यक्षमा मनोनित भएका गुरु बरालले उनीहरुलाई हटाउने जिल्ला नेतृत्वको योजनालाई अनुमोदन गरिदिए । तीन महिनापछि हुने अधिवेशनबाट निर्वाचित भएर सबैले जिम्मेवारी पाउनसक्ने भएकोले अहिले विरोध गर्नु आवश्यक नभएको जवाफ उनले दिएका थिए ।
नेकपा एमाले मोरङमा मानगढ खानेपानी आयोजनाको चुनावको विषयलाई लिएर सुरु भएको विवाद जिल्ला कमिटिको पछिल्लो निर्णयले झनै चर्कने देखिएको छ । पार्टीले अगाडि सारेको उम्मेदवारलाई हराउने गरी बागी उम्मेदवार खडा गरेको आरोपमा महानगर अध्यक्ष थापासहित तीन जनालाई जिम्मेवारीबाट हटाएकोमा अहिले थप तीन जना कार्वाहीमा परेका हुन् ।
मानगढ खानेपानी आयोजनाको उपभोक्ता समितिको निर्वाचनको विषयमा एमालेले जिल्ला कमिटि बुढाथोकीलाई पनि स्पष्टीकरण सोधेको थियो । उनले स्पष्टीकरण बुझाएपछि थप सोधपुछ तथा कारवाही गरेको थिएन । तर, उनलाई एमालेले अधिवेशन आयोजक समितिबाटै हटाएको छ ।
‘ऋषिकेष पोखरेलले जिल्ला कमिटी हस्तान्तरण गर्दा कायम रहेको २५५ सदस्यीय जिल्ला कमिटीमा अहिले ४४ जना थपेर २९९ जनाको आयोजक कमिटी बनाइएको छ’ बुढाथोकीले भने, ‘सपथ ग्रहण कार्यक्रममा निर्वाचित सदस्यलाई जानकारी पनि भएन ।’ उनले आफूलाई कुन प्रक्रियाबाट के कारणले हटाइएको भन्ने जानकारी नदिएको र सपथ कार्यक्रममै जवाफ माग गर्दा पनि नपाएको बताए ।
थापमाथिको पहिलेको कार्वाही र अहिले बुढाथोकीसहितलाई गरिएको कार्वाहीको योजनाकार भने अर्का नेता परशुराम बस्नेत(कृष्ण) रहेको बताइन्छ । आफूसँगैका समकालिन युवा नेताहरुलाई कार्वाही गरेर आगामी दिनमा विराटनगरमा आफ्नो बर्चश्व बढाउने योजनामा प्रदेश खेलकुद बोर्डका अध्यक्षसमेत रहेका बस्नेत छन् । बस्नेतको थापासँग राम्रो सम्बन्ध छैन भने बुढाथोकीसँग त बोलचालसमेत छैन ।
मोरङमा पार्टीका पूर्वअध्यक्ष ढकालको प्रभाब बलियो भएकोले उनको आगामी अधिवेशनलाई लक्षित गरेर उनीनिकटका नेताहरुमाथि कार्वाहीको डण्डा चलाइएको एमालेकै कार्यकर्ताहरु बताउँछन् । अधिवेशनमा ढकाल पक्षले बाजी मार्ने भयकै कारण तोकिएको मितिमा अधिवेशन नगरी ६ महिनाको म्याद थपेर आयोजक समिति बनाइएको छ ।
गुट बलियो बनाउन जिल्ला अधिवेशनसम्म अझै धेरैमाथि कार्वाही हुने एमालेका प्रदेश कमिटिका एक सदस्यले बताएका छन् । ‘जिल्ला अधिवेशलाई केन्द्रित गरेर गुट बलियो बनाउने धन्दा अहिले पार्टीमा खतिवडा, पोखरेल र बस्नेतले चलाइरहेका छन्’ उनले भने, ‘त्यो अभियामा पार्टीका प्रदेश इञ्चार्जदेखि केन्द्रीय उपाध्यक्षसम्मको साथ रहेकोले अधिवेशनसम्ममा अझै धेरैमाथि कार्वाही हुनेछ ।’
बुढाथोकीलाई कार्वाही गर्ने मोरङको बैठक र थापाको कार्वाही अनुमोदन गर्ने प्रदेशको बैठकमा नेकपा एमालेका उपाध्यक्ष गुरु बरालसहित कोशी प्रदेशका इञ्चार्ज शेरधन राई, मोरङ इन्चार्ज जीवन घिमिरेलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नेकपा एकीकृत समाजवादी परित्याग गरेर एमालेमा फर्केका सुभाष घिमिरेलाई पार्टी प्रवेश गराई मोरङ जिल्ला सदस्य बनाइएको थियो । घिमिरे गएको स्थानीय तह निर्वाचनमा विराटनगर ३ बाट वडाध्यक्ष पदका उम्मेदवार थिए ।