विराटनगर । सोलुखुम्बु जिल्लाको पासाङ ल्यहामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमपोखरी फुटेर आएको बाढीले गाउँ नै डुबाएको छ ।
दूधकोशीको सहायक खोला थामेमा शुक्रबार दिउँसो एक्कासी आएको बढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा ५ मा पर्ने थामे गाउँ डुबाएको हो ।
बाढी आउनुको कारण खुलेको छैन । हिमपहिरो हो कि हिमताल फुटेको यकिन नभएको प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिलेरे जानकारी दिए । उनका अनुसार डुबानमा परेको थामे गाउँमा ४५ घरधुरी छन् । ती अधिकांश घर डुबेको र केहि घर बगाइसकेको सूचना आएको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरिङ शेर्पाले जानकारी दिए ।
थामे गाउँ पुग्न सोलुखुम्बु सदरमुकामबाट चार दिन लाग्ने बताइएको छ । सो क्षेत्रमा अहिलेसम्म मानवीय क्षति भएको जानकारी नआएको भन्दै प्रहरीले प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको जानकारी दिए ।
लेदोसहित आएको भीषण बाढीले अहिलेसम्म दुईवटा होटल बगाएको जानकारी आएको प्रहरीले जनाएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरिङ शेर्पाले खुम्बुकै थामे क्षेत्रमा हिमपोखरी फुटेको आशंका गरेका छन् ।
सोलुखुम्बुबाट निर्वाचित प्रदेशका सांसद गोम्बु शेर्पाले पोखरी फुटेर ब्यापक रुपमा दूधकोशीमा बाढी आइरहेको जानकारीमा आएको बताएका छन् । त्यसबाट सोलुखुम्बु र खोटाङमा क्षति पुग्नसक्ने उनले बताए । गाउँपालिकाले बाढीको भिडियो सामाजिक सञ्जालमा शेयर गर्दै सतर्क रहन आपसासको क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।
स्थानीयका अनुसार केही दिनदेखि वर्षा त भइसकेको थियो, तर यति ठूलो बाढी आउने अवस्था थिएन । त्यसैले माथिल्लो भेगमा रहेको हितताल फुटेको हुनसक्ने स्थानीयको आशंका छ ।
दूधकोशी नदी सोलुखुम्बु र खोटाङको सिमा भएर बग्ने नदी हो । जिल्लाको खुम्बु पासाङ ल्यामु, माप्यदूधकोशी गाउँपालिका, सोताङ, थुलुङ दूधकोशी र नेचा सल्यान गाउँपालिकाका नदी किनारका बस्तीमा क्षति पुग्नसक्ने सांसद शेर्पाले बताए । ‘खुम्बुको थामे गाउँमा बाढीले गर्दा केही घर बगाएको भन्ने खबर छ’ उनले भने, ‘दूधकोशी नदि अहिले बढेर लुक्ला फेदिसम्म आइपुगेको खबर छ ।
जल तथा मौसम विज्ञान विभागले त्यस क्षेत्रमा लगातार वर्षा भइरहेको र त्यो क्रम बढ्दो क्रममा देखिएको जनाएको छ । विभागका अनुसार यही अगस्ट १३ मा त्यस क्षेत्रमा करिब २५ मिलिमिटर वर्षा मापन गरिएको छ । शुक्रबार त्यस क्षेत्रमा करिब ४५ मिलिमिटर वर्षा भएको विभागको तथ्यांक छ ।
https://www.facebook.com/hamromat1/posts/1023617613099045?ref=embed_post