विराटनगर । सोलुखुम्बु जिल्लाको पासाङ ल्यहामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमपोखरी फुटेर ठूलो बाढी पहिरो आएको छ ।
शुक्रबारको बाढी पहिरोबाट भएको क्षतिबारे अहिलेसम्म यकिन विवरण भने आइनसकेको प्रहरीले जनाएको छ ।
सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले अहिलेसम्म क्षतिको विवरण नआएको बताएका छन् । हिमताल फुटेको अथवा हिमपहिरो गएको भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ ।
‘हामीले पनि सामाजिक सञ्जाल हेरेर थाहा पाएका हौं । नजिकैको प्रहरीलाई विवरण बुझ्न र घटनास्थलतर्फ जान भनेका छौं; उनले भने, ‘केही समयपछि प्रहरी पुगेर क्षतिको अवस्थाबारे जानकारी आउँछ ।
सोलुखुम्बुबाट निर्वाचित प्रदेशका सांसद गोम्बु शेर्पाले पोखरी फुटेर ब्यापक रुपमा दूधकोशीमा बाढी आइरहेको जानकारीमा आएको बताएका छन् । त्यसबाट सोलुखुम्बु र खोटाङमा क्षति पुग्नसक्ने उनले बताए ।
स्थानीयका अनुसार केही दिनदेखि वर्षा त भइसकेको थियो, तर यति ठूलो बाढी आउने अवस्था थिएन । त्यसैले माथिल्लो भेगमा रहेको हितताल फुटेको हुनसक्ने स्थानीयको आशंका छ ।
दूधकोशी नदी सोलुखुम्बु र खोटाङको सिमा भएर बग्ने नदी हो । जिल्लाको खुम्बु पासाङ ल्यामु, माप्यदूधकोशी गाउँपालिका, सोताङ, थुलुङ दूधकोशी र नेचा सल्यान गाउँपालिकाका नदी किनारका बस्तीमा क्षति पुग्नसक्ने सांसद शेर्पाले बताए । ‘खुम्बुको थामे गाउँमा बाढीले गर्दा केही घर बगाएको भन्ने खबर छ’ उनले भने, ‘दूधकोशी नदि अहिले बढेर लुक्ला फेदिसम्म आइपुगेको खबर छ ।