ताप्लेजुङमा पहिरोले दुई घर बगायो

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा भिरबाट आएको पहिरोले दुई घर बगाएको छ । फक्ताङलुङ गाउँपालिका वडा नं –६ सेकाथुम नजिकैको गौथली भिरबाट आएको पहिरोले स्थानीय छिरिङ ठक्चे शेर्पाको पसल, घर र नजिकैको अलैंची बगानमा ठूलो क्षति पुर्‍याएको वडाध्यक्ष पेम्बाटासी शेर्पाले बताए ।

होटेल सञ्चालक समेत रहेका शेर्पा बुधबार दिउँसो सदरमुकाम गएको र होटलमा रहेकी उनकी छोरी समेत बेलुका अर्को घरमा गएकाले मानवीय क्षति भएको छैन । बुधबार साँझदेखि अविरल पानी परेको र गएराति करिब २ बजेपछि पहिराले दुई घर बगाएको छ ।

बाढी पहिरोले पर्यटकीय गाउँ घुन्सा लगायत कञ्चनजंगा आधार शिविर जाने पदमार्ग अन्तर्गत घुन्सा खोलाको पुल समेत बगाएको छ । पुल बगाउदा यातायात सम्पर्क टुटेको छ । पहिरोले तल्लो लामाटारमा रहेको घुन्सा खोलाको झोलुङ्गे पुल बगाएपछि पर्यटकीय घुन्सा गाउँ लगायत ‘कञ्चनजंघा आधार शिविर जाने बाटो’ यातायात अवरुद्ध भएको छ ।

वडाध्यक्ष पेम्बाटासी शेर्पाका अनुसार पुलमाथिको लठ्ठी बाहेक सबै बगेको छ । पुल नजिकैको पसल पनि बगाएको उनले बताए । घुन्सा खोला निकै ठूलो भएको र पहिरो जाँदै गरेकोले तत्काल केही गर्न सक्ने अवस्था नरहेको वडाध्यक्ष शेर्पाको भनाई छ । गाउँपालिकाका अध्यक्ष राजन लिम्बु ले वडाअध्यक्ष र स्थानीयसँग समन्वय गरी केही उपाय निकाल्न सकिन्छ कि भनेर अध्ययन भइरहेको बताए ।

बिहिबार, ३१ साउन, २०८१, बिहानको ०८:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर