लोड हुँदैछ...

मेनु

न्याउरी मुसाका लागि थापेको धराप मरेको थियो छावा हात्ती, एक जना पक्राउ

न्याउरी मुसाका लागि थापेको धराप मरेको थियो छावा हात्ती, एक जना पक्राउ

विराटनगर ।  विद्युतीय धराप थापेका कारण मंगलबार मोरङको बेलबारी नगरपालिका–३ मा हात्तीको छावा मरेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मृत छावाको पोष्टमार्टमबाट करेन्ट लागेर मृत्यु भएको स्पष्ट भएपछि प्रहरीले विद्युतीय धरापमा परेको अनुमान गरी अनुसन्धान अगाडि बढाएको थियो ।

प्रहरीले विद्युतीय धराप राख्ने बेलबारी नगरपालिका–३ का ४६ वर्षीय तेजबहादुर राईलाई पक्राउ गरेको हो । राईले स्थानीय विनोद थापाको निजी वन क्षेत्रनजिक विद्युतीय धराप थापेका थिए । उक्त धरापमा परेर करिब २–३ वर्षको पोथी छावा मरेको थियो । थापाको निजी वनमा मृत फेला परेको छावा राईले न्याउरी मुसाका लागि थापेको विद्युतीय धरापमा परेको बताएका छन् ।

प्रारम्भिक अनुसन्धाका क्रममा न्याउरीमुसोका लागि थापेको विद्युती धरापमा परेर हात्ती मरेको देखिएको सब डिभिजन वन कार्यालय बेलबारीका प्रमुख वन अधिकृत दिपेशकुमार मिश्रले बताए ।

पासो थापेको आरोपमा बेलबारी नगरपालिका–३ का ४६ वर्षीय तेजबहादुर राईलाई पक्राउ गरी कारवाहीका लागि वन कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नतले जानकारी दिए ।राईविरुद्ध वन कार्यालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत अनुसन्धान सुरु गरेको छ ।

छावा मृत फेला परेको घटनास्थल राईको घरदेखि लगभग २० मिटरको दुरीमा छ । घरमा पालेका कुखुरा न्याउरीमुसोले खाएर दुःख दिएपछि न्याउरी मार्नका लागि पासो थापेको देखिएको बस्नेतले बताए ।

पछिल्लो सात महिनामा मोरङ मात्रै ३ वटा जंगली हात्ती मरेका छन् । यसअघि सुन्दरहरैँचा नगरपालिका–६ र १० मा हात्ती मृत भेटिएको थियो । सुन्दरहैचा–६ मा गत ३० जेठमा भाले छावा मृत भेटिएको थियो ।१६ पुस २०८० मा सुन्दरहरैंचा–१० को जनजागरण सामुदायिक वनमा गोली हानेर मारेको अवस्थामा करिव १२ वर्षको जंगली हात्ती मृत फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।