विराटनगर । कोशी प्रदेश सरकारको महत्वपूर्ण सडक सञ्जालको रुपमा सिधुवा शुक्रबारे सडक बुधबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेका छन् ।
कोशी प्रदेश सरकारको ८९ करोड ९० लाख रुपैयाँको लागतमा सडक निर्माण गरिएको हो । सडक उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशले काम गर्न नसकिरहेको आलोचना भइरहेको बेला धनकुटा र तेह्रथुम जिल्लालाई जोड्ने यो सडक निर्माणले त्यस क्षेत्रको आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान पुग्ने बताए ।
१७ किलोमिटर लामो सडक निर्माणले तेह्रथुमको कृषि, पर्यटनको प्रर्वद्धनमा भूमिका खेल्ने उनले बताए । यो सडक धनकुटाको सिधुवाबाट सुरु भइ तेह्रथुमको सदरमुकामसम्म पुर्याउने लक्ष्यका साथ निर्माण गरिएको हो । सडक निर्माणले स्थानीय बजार प्रर्वद्धन र विकासमा महत्वपूर्ण भूमिका खेल्ने मुख्यमन्त्री कार्कीको भनाइरहेको छ । उनले पहाडी जिल्लामा भइरहेको बसाइँसराइ रोक्न र कृषि र पर्यटनलाई प्रर्वद्धन सडक महत्वपूर्ण हुने बताए । ‘आज पहाडमा बसाइँसराइ बढ्दै गएको छ, यो रोक्न नीतिगत व्यवस्था गर्दै शिक्षा र स्वास्थ्यमा पनि सरकारले काम गर्ने छ ’ उनले भने ।
मुख्यमन्त्री कार्कीले बुधबार नै तेह्रथुमको थछर जोरपाटीको खेलकुदलगायत विभिन्न कार्यक्रममा सहभागिता जनाएका थिए ।