विराटनगर । कोशी प्रदेशमा अपराधका घटना वर्षेनी बढ्दो अवस्थामा रहेको देखिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको १४ जिल्लाकोे अपराध तथ्यांक हेर्दा प्रत्येक वर्ष अपराधका श्रृङखला बढ्दो अवस्थामा देखिएको हो ।
कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग, सामाजिक अपराध, आत्महत्या, लागूऔषध, बैंकिङ कसुर, चोरी तथा डाँका, जवरजस्ति करणी, ठगी, जवरजस्ती करणी उद्योग, किर्ते सम्बन्धी, साईबर अपराध र मानव बेचबिखन गरी प्रहरीमा ३ वर्षमा २६ हजार ३७१ वटा मुद्दा प्रहरीमा दर्ता भएको छ । तीन वर्षमा दर्ता भएकोमध्ये आत्महत्याको अवस्था डरलाग्दो रहेको छ । प्रत्येक वर्ष आत्महत्याको घटना बढेको देखिन्छ ।
कोशी प्रदेशमा आर्थिक वर्ष २०७८/०७९ मा ८ हजार ६२ वटा मुद्दा दर्ता भएको छ । २०७९/०८० मा ८ हजार ७२४, आर्थिक वर्ष २०८०/०८१ मा ९ हजार ३८७ वटा मुद्दा दर्ता भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भिम दाहालले जानकारी दिए ।तीन वर्षमा सबैभन्दा बढी आत्महत्याका घटना भएका छन् । यो अबधिमा ४ हजार ५८४ वटा आत्महत्याको घटना प्रहरीमा दर्ता भएको अभिलेखमा देखिन्छ ।
आत्महत्या आर्थिक वर्ष २०७८/०७९ मा १ हाजर ४८२ वटा दर्ता भएको थियो । यस्तै आर्थिक वर्ष २०७९/८० मा बढेर १ हजार ५४८ वटा र २०८०÷०८१ मा १ हजार ५५४ वटा आत्महत्याको मुद्दा दर्ता भएको प्रदेश प्रहरीको अभिलेखमा देखिन्छ ।
घटनाको सुक्ष्म अध्ययन गरेको प्रहरीले सामान्य परिवारका किशोर–किशोरी र युवाले आत्महत्याको बाटो रोजेको देखाउँछ । आत्महत्या असफलता, बेरोजगार, गरिबी, नकात्मक सोच, लागूऔषध दुव्र्यसन, अत्याधिक मदिरा सेवन, मानसिक रोगी, पारिवारिक बेमेल, असफल प्रेम, परपुरुष÷महिलाबीच विवाहेत्तर सम्बन्धलगायत कारणबाट सिर्जित समस्या अविश्वास, प्रतिशोध र निराशा अनि आवेगमा बद्लिँदा मानिसले आत्महत्या जस्तो जघन्य अपराधको बाटो रोज्ने गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी दाहालले बताए ।
यस्तै डिप्रेसन, कडा खाले मनोरोग, अवैध गर्भ धारण, छुवाछुत, सामाजिक संजालको दुरुपयोग, कम गुणस्तरको जीवनशैली, अभिभावकले बालवाकिलालाई उचित समय नदिनु र अन्य कारणले पनि आत्महत्या हुने गरेको प्रहरीको बुझाइ छ ।
त्यसैगरी तीन वर्षमा सामाजिक अपराध ४ हजार ५९१ वटा दर्ता भएको छ भने लागूऔषध २ हजार ६०८, बैंकिङ कसुर २ हजार ९९, चोरीडाँका मुद्दा २ हजार १६०, जवरजस्ती करणी १ हजार ५९१ र कर्तब्य ज्यान मुद्दाा ३३२ वटा दर्ता भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी चन्द्रकुवेर खापुङले बढ्दो जनसंख्यासँगै अपराध पनि बढेको बताए । मानिसहरुका महत्वकांक्षा बढ्दै गएको, सहजै पैसा कमाउने झोँक चलेको र त्यसको लागि आपराधिक बाटोमा लागेको पाइएको उनको भनाइ छ ।
कोशी प्रदेशमा १० हजार ७१७ जना दरबन्दी रहेको प्रदेश प्रहरीमा १० हजार ३२ जना मात्रै कार्यरत छन् । ४९ लाख ६१ हजार ४१२ जनसंख्या रहेको प्रदेशमा एक जना प्रहरीले १११ घर परिवारका ५६४ जनाको सुरक्षा गरिनुपर्ने जिम्मेवारी छ ।
पछिल्लो समयमा भन्सार छली गरेर अवैध रुपमा हुने राजस्व छलीबाट प्रहरीले उठाउने राजस्वमा कमी आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा भन्सार चोरी तस्करीबाट प्रहरीले उठाउने राजस्वमा आधाभन्दा कमी आएको हो । अघिल्लो वर्ष २६ करोड ९८ लाख ३८ हजार राजश्व असुली भएकोमा गत आर्थिक वर्षमा १२ करोड ३८ लाख ११ हजार मात्र असुली भएको छ ।
प्रदेश प्रहरीले समग्रहमा कुल राजस्व असुलीमा भने वृद्धि गरेको जनाएको छ । आर्थिक वर्षमा जरिवना तथा राजस्व संकलनबाट १ अर्ब १८ करोड ५७ लाख ८२ हजार २ सय ५१ रुपैयाँ असुली भएको छ ।