विराटनगर । उपभोक्ताहरुले राम्रोसँग सञ्चालन गर्दै आएको मानगढ खानेपानी आयोजना केही समययता नेतृत्वविहीन झैं बन्न पुगेको छ । पाँचवर्षे कार्यकाल पूरा गरेर नयाँ कार्यसमिति गठन गर्नका लागि निर्धारण गरिएको निर्वाचनमा गत जेठ १९ गते मानगढ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सदस्यहरुले मतदान गरिसकेका छन् । तर मतदान भएको ४५ दिन बितिसक्दा पनि मतपरिणाम सार्वजनिक भएको छैन ।
मतदान गर्नका लागि लाइनमा बसेका केही मतदाताले मतपत्र पाइसकेपछि पनि मतदान गर्न नपाएको भन्दै मतदान रद्द गरी पुनः निर्वाचन गर्नुपर्ने मागसहित उच्च अदालतमा मुद्दा दायर गरेका थिए । सो मुद्दाको किनारा नलागेका कारण संस्था नेतृत्वविहीन बनेको हो । मानगढ खानेपानी संस्थाले विराटनगर ४ र बुढीगंगा गाउँपालिका २ का बस्तीहरुमा खानेपानी वितरण गर्न आयोजना विस्तार गरिरहेको छ । त्यस आयोजनालाई सम्पन्न गरी उपभोक्ताहरुमाझ खानेपानी विस्तार गर्ने काममा देखिएको समस्या समाधान गर्न अधिकार सम्पन्न समितिले गर्नुपर्ने निकै कामहरु छन् । तर संस्थाले त्यसलाई गति दिन सकिरहेको छैन । पुरानो कार्यसमितिले निर्वाचन गरेर नयाँलाई हस्तान्तरण गर्ने अन्तिम तयारी गरिसकेको थियो । तर विवादका कारणले नयाँ कार्यसमिति पनि गठन हुन सकेन । जसले संस्थालाई एक हिसाबले डिरेलको अवस्थामा राख्ने काम भएको छ ।
मानगढ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका कार्यसमिति सदस्य तथा निर्माण उपसमिति सदस्य फुलथुंगा खतिवडा संस्थालाई राजनीतिले प्रभावित बनाएको बताइन् । पछिल्ला घटनाक्रमहरुले संस्थाको काम कारवाहीमा असर परेको भए पनि संस्था नेतृत्वविहीन नै भने नरहेको खतिवडाले बताइन् । उनले भनिन् ‘हाम्रो विधानमा नयाँ कार्यसमिति निर्वाचित भएर शपथ नलिएसम्म पुरानै कार्यसमितिले काम गर्नेछ भनि प्रष्ट व्यवस्था गरेको छ त्यसैले संस्था नेतृत्वविहीन चाहिँ छैन ।’ पुरानो कार्यसमिति क्रियाशील भए पनि नयाँ निर्वाचन भइसकेकोले महत्वपूर्ण र दीर्घकालीन असर पर्ने निर्णय लिने नैतिक ग्राउण्ड भने उनीहरुसँग छैन । त्यसमा पनि अदालतले नै दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश गरेकाले कामचलाउ अवस्थामा छ । त्यसले संस्थाको विकासमा अवरोध गरेको छ ।
सहजरुपमा सञ्चालन भइरहेको सामुदायिक संस्थाहरुलाई राजनीतिले कसरी जीर्ण र असफल बनाउँछ भन्ने ज्वलन्त उदाहरण मानगढ खानेपानी संस्थालाई लिन सकिन्छ । पछिल्लो निर्वाचनमा दलीय संलग्नताका आधारमा निर्वाचनलाई लैजाने प्रयत्न भएकै कारण संस्था प्रभावित हुन पुगेको हो । विगतमा हुने निर्वाचनमा खानेपानीकै उपभोक्ताहरु सहभागी हुन्थे । गत जेठ १९ गते भएको निर्वाचनमा भने उपभोक्ताहरु मतदान गर्न पुगे उम्मेदवारहरु राजनीतिक पार्टीको प्रतिनिधि भएर प्रस्तुत भए । त्यसपछिको विवादले गर्दा मतपेटिकामा बन्द भएको उपभोक्ताको मत गणना गर्ने वातावरण बनेन ।
उच्च अदालत विराटनगरले मानगढ खानेपानीको निर्वाचन सम्बन्धी मुद्दाको पेशी यहि साउन १७ गतेका लागि तोकेको छ । तर उक्त पेशीबाटै मुद्दाको किराना हुने भइहाल्ने सम्भावना त्यति बलियो छैन । यसले संस्थालाई अझ लामोसमय नेतृत्वविहीन बनाउने चुनौती पनि छ ।
गत निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिएकी दुर्गा चापागार्इँलाई बनेपाली कांग्रेसले औपचारिक रुपमै समर्थन गर्यो भने अध्यक्षका अर्का उम्मेदवार रामबहादुर घिमिरेलाई नेकपा एमाले मोरङ जिल्ला कमिटीले नै आधिकारिक उम्मेदवारको तक्मा लगाइदियो । दुई प्रमुख राजनीतिक दलका आधिकारिक उम्मेदवारहरु खानेपानी उपभोक्ताहरुको नेतृत्व लिन अग्रसर भएपछि विराटनगर ३ का लालमणि भट्टराईले पनि उम्मेदवारी दिए । विचारका हिसाबले उनी नेकपा एमालेमा संगठित व्यक्ति भए पनि उनी स्वतन्त्र रुपमा मैदानमा उत्रिएका थिए । तर त्यसै विषयलाई लिएर मानगढ खानेपानीमा संस्था अति राजनीतिकरणको सिकार बन्न पुगेको छ ।
नेकपा एमालेले लालमणि भट्टराईको उम्मेदवारीलाई आफ्नो दलको बागी उम्मेदवारको रुपमा चित्रण गर्दै पार्टीबाटै निलम्बन गरिदिएको छ । उम्मेदवार भट्टराईलाई मात्र होइन उनीप्रति सद्भाव राख्ने र निकट सम्बन्ध भएका नेता कार्यकर्ताहरुलाई नेकपा एमालेले कारवाही गरेको छ ।
पार्टीबाट निलम्बनमा परेका एमाले विराटनगर महानगरकमिटीका अध्यक्ष सागर थापा सार्वजनिक संस्थानहरुलाई राजनीतिकरण गर्न नहुने बताउँछन् । ‘स्वतन्त्ररुपमा चलिरहेको संस्थालाई राजनीतिकरणले कमजोर बनाउँछ । यस्ता संस्थाहरुलाई राजनीतिकरण गर्न हुँदैन तर मानगढमा जबरजस्तरुपमा राजनीतिकरण गरियो, यो राम्रो भएन,’ थापाले भने ‘कुनै पार्टीले लेटरप्याडमै लेखेर दिने, कुनैले बैठकमा निर्णय गरेर चुनाव लड्न पठाउने जस्ता कार्यले सार्वजनिक संस्थाको हित गर्दैन ।’
आफूले भने मानगढमा कुनै राजनीति नगरेको उनले बताए । उनले भने ‘मैले स्वतन्त्ररुपमा चुनावमा गएकाहरुप्रति साधारण सहानुभूति राखें होला तर त्यस्तो कुनै गतिविधि गरेको थिइन, यस्ता संस्थामा कसैले पनि राजनीति गर्न हुँदैन ।’
कारवाहीको विषय एमाले प्रदेश कमिटीमा
नेकपा एमाले मोरङका संयोजक बाबुराम कार्कीले मानगढ खानेपानीको विषयलाई लिएर पार्टीमा देखिएको विवाद प्रदेश कमिटीमा पुगेको बताए । ‘चुनावको विषयलाई लिएर जे विवादहरु भए त्यो माथिल्लो कमिटीमा पुगेकोले जिल्लाबाट गर्नुपर्ने वा गर्ने केही कामहरु छैनन् जे फैसला गर्ने हो त्यो प्रदेशबाटै आउँछ,’ कार्कीले भने ।
महानगर अध्यक्ष थापा भने आफूहरुलाई विधानविपरीत कारवाही गरेको विषयमा जिल्लाका नेताहरुले महशुस गर्नथालेको आभाष आफूले पाएको बताउँछन् । उनले भने ‘खानेपानीको चुनावको नाममा वडाहरुमा पार्टी विभाजित नहोस् भनेर काम गरें तर नियोजित ढंगले कारवाही गरेका नेताहरु यतिबेला आत्मालोचना गर्ने तहमा पुग्नुभएको देखिन्छ । एउटा सार्वजनिक संस्थानको चुनावलाई लिएर पार्टीभित्र यस प्रकारको द्वन्द्व गर्ने कार्यले न पार्टीलाई राम्रो गर्छ न समाजलाई भन्ने हेक्का राखेकै दिन यो समस्या सकिन्छ ।’