विराटनगर महानगरले किन्यो मोटरबोट

विराटनगर । विराटनगर महानगरपालिकाले खरिद गरेको मोटरबोटको केसलिया नदीमा परीक्षण गरिएको छ ।

बाढी र डुबानका समयमा उद्धारका लागि महानगरले ९ लाख ७५ हजार रुपैयाँमा खरिद गरेको मोटरबोटको मंगलबार परीक्षण गरिएको हो ।
मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीलाई मोटरबोटमा राखेर नगर प्रहरीले परीक्षण गरेको थियो । वर्षाको समयमा बाढी र डुबानमा फसेका नागरिकलाई उद्धारमा सहज हुने मेयर नागेश कोइरालाले बताए । इन्जिन जडान नगरिकन पनि बोटलाई सञ्चालनमा ल्याउन सकिने उनको भनाइ छ ।

विराटनगरको पूर्वमा सिंघीया र पश्चिममा केसलिया नदी भएका कारण स्थानीयले हरेक वर्ष बाढी र डुबानको समस्या झेल्दै आएका छन् । महानगरसित यसअघि रबरबोट मात्रै रहेको थियो । मोटरबोट खरिद गरिएसँगै बाढी र डुबानमा फसेका महानगरवासीलाई तत्कालै उद्धार गर्न सजिलो भएको मेयर कोइरालाको दावी छ ।

यसअघि बाढीमा फसेका नागरिकलाई उद्धारका लागि सशस्त्र प्रहरीसहित अन्य सुरक्षा निकायबाट मोटरबोट मगाउनुपर्ने बाध्यता थियो । परीक्षणपछि उपमेयर शिल्पा निराला कार्कीले बाढीको विपदमा परेका नागरिकलाई तत्कालै उद्धार गर्न सहज होस् भनेर मोटरबोट खरिद गरिएको बताइन् ।

काठमाडौंबाट खरिद गरेर ल्याइएको मोटरबोटको परीक्षण सफल भएको महानगरले जनाएको छ । नगर प्रहरी निरीक्षक राजन पौडेलका अनुसार खरिद गरेको कम्पनीले नगर प्रहरीलाई सञ्चालनको सम्पूर्ण जानकारी दिनेछ । त्यसपछि नगर प्रहरीले मोटरबोट आफैं जडान गर्ने र सञ्चालन गर्नेछ ।

मङ्गलबार, ०१ साउन, २०८१, साँझको ०६:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर