बृद्धलाई छोराबुहारीले नै जंगलमा लगेर छाडेपछि…..

विराटनगर । मोरङको बेलबारीमा आफ्नै छोराबुहारीले मध्यजंगलमा लगेर छाडिदिएका एक वृद्धलाई वनकर्मीले उद्धार गरेका छन् ।

बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रबाट मंगलबार बेलबारी ७ का ७० वर्षीय जामुनलाल झाँगडलाई चार दिनपछि उद्धार गरिएको हो । हेरालु टोलीले वनबाट उद्धार गरी अस्पताल भर्ना गराएका छन् ।

वन समितिका अध्यक्ष दिनेश गिरीले वृद्धको बेलबारी नगर अस्पतालमा उपचार भइरहेको जानकारी दिए । ‘चार दिन अगाडि नै बीच जंगलमा लगेर छाडिदिएका रहेछन् । वन क्षेत्र निगरानीमा गएका साथीहरूले फेला पारी लिएर आउनुभएछ’ उनले भने, ‘छोराबुहारीले नै मोटरसाइकलमा बसाएर बीच जंगलमा लगेर छाडिदिएका रहेछन् ।’

वृद्धले गस्ती टोलीसँग छोराबुहारीले आफूलाई जंगलमा छाडेको बताएका छन् । बृद्धलाई दुईतिर बोरामा घोचा हालेर प्राथमिक स्ट्रेचर बनाई गाडी पुग्ने स्थानसम्म ल्याएर उपचारको लागि अस्पताल भर्ना गरिएको गिरीले बताएका छन् ।

वृद्धको शरीरको भागमा चोट देखिएको र उनी धेरै बोल्न नसक्ने अवस्थामा रहेको गिरीले बताए । बेलबारी नगरपालिका–७, डांगी टोलमा बस्दै आएका वृद्धका छोराबुहारीको खोजी भइरहेको वडाध्यक्ष सुनिता चौधरीले बताइन् । घटनाको बारेमा सोधीखोजी सुरु गरेको उनले बताइन् ।

चौधरीका अनुसार बेलबारी ७ स्थित एक आफन्तकहाँ आउजाउ गरिरहने वृद्ध सुन्दरहरैँचास्थित कोरियाडाँगी भन्ने ठाउँमा बस्दै आएका थिए । जेठो छोरासँग बस्दै आएका उनका कान्छा छोरा भने भारतको पञ्जाबमा रोजगारका सिलसिलामा रहेको बताइएको छ । एक साताअघि छोराकोमा जान्छु भनेर बेलबारीस्थित आफ्नाको घरबाट हिँडेका बृद्धलाई त्यसपछि जंगलमा छाडिएको वडाध्यक्ष चौधरीले जानकारी दिइन् ।

अस्पतालमा बृद्ध इन्तु न चिन्तु अवस्थामा रहेको र शरीर निकै कमजोर देखिएको चौधरीको भनाइ छ । वन गस्तीमा गएका डिभिजन वन र बेलबारी–चिसाङ साझेदारी वनका गणेश कार्की, राजेन्द्र घिमिरे, मुरारी काफ्ले, सन्तोष विकसहितको टोलीले बृद्धको उद्धार गरेको थियो ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालका अनुसार वृद्धका परिवारको खोजी कार्य भइरहेको छ । सेतै फुलेका दाह्री र कपाल रहेका बृद्ध पातलो टिसर्ट र हाफपाइन्टमा फेला परेका थिए । उनले चार दिनदेखि पानी मात्र पिएर बसेको पाइएको छ ।

मङ्गलबार, ०१ साउन, २०८१, दिउँसोको ०४:५४ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर