संखुवासभामा कारवाहीमा पर्ने भन्दा पुरस्कृत हुने प्रहरी धेरै

संखुवासभा । जिल्ला प्रहरी कार्यालय संखुवासभामा पुरस्कृत हुने प्रहरीको संख्यामा उल्लेख्य वृद्धि भएको छ । आर्थिक बर्ष २०८० ÷०८१ मा कारवाहीमा परेका भन्दा पुरस्कृत भएका प्रहरी संख्या बढी देखिएको हो ।

एक वर्षमा जिल्ला प्रहरी कार्यालय संखुवासभाका ९६ जना प्रहरी पुरस्कृत भएका छन् । सेवाग्राही र सेवा प्रदायकबीचको दोहोरो सम्बन्ध स्थापित गर्न जिल्ला प्रहरी कार्यालय संखुवासभाले खाँदबारी नगरपालिका ९ तुम्लिङटारमा आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा उक्त जानकारी दिइएको हो । एक बर्षमा  ९६ जना प्रहरी पुरस्कृत भएका छन् ,भने २६ जना प्रहरी कारवाहीमा परेको जानकारी दिइयो ।

सेवाग्राही र सेवा प्रदायकबीचको असमझदारी हटाइ सुशासन, पारदर्शीता, जवाफदेहिता र जिम्मेवारीको बोध गराइ सुशासन स्थापनामा सहयोग पु¥याउन प्रहरी कार्यालयले नागरिक सुनुवाइ कार्यक्रम गरेको हो ।

नागरिक सुनुवाइमा बोल्दै खाँदबारी नगरपालिका नगरप्रमुख महेश थपलियाले सुशासन कायम गर्न र राज्यको सेवा प्रवाहमा सुधार ल्याउनै पर्ने बताए । नागरिकलाई सहज ढंगबाट आफ्नो अवस्था, काम, कर्तव्य अधिकार तथा सेवाग्राही र प्रदायकबीच समझदारी बनाउन मिलेर काम गर्ने वातावरण तयार पार्नु पर्ने र त्यसका लागि आफूहरु पनि सहयोग र समन्वय गर्न तयार रहेको उनले बताए ।

नागरिक–प्रहरी एक हौं भन्ने बुझाइलाई नागरिकको घरदैलोमा पु¥याउन नागरिक सुनुवाई कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालयका संखुवासभाका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।

प्रहरीले अपराध नियन्त्रण र अपराध अनुसन्धानमा प्रहरी कुनै कसर नराखी काम गरिरहेको प्रहरी नाउव उपरीक्षक श्रेष्ठले बताए ।

पछिल्लो समयमा नेपाल प्रहरीले नागरिक र स्थानीय समुदायसँग साझेदारी गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रममा प्रहरीलाई नागरिकमैत्री प्रहरी बन्ने सुझाव दिएका थिए ।

कार्यक्रमका वक्ताहरुले राज्य पारदर्शी, जवाफदेही र उत्तरदायी हुनै पर्नेमा जोड दिएका थिए । प्रहरी कार्यालयले हरेक वर्ष नागरिक सुनुवाई गरी जनताबाट धारणा संकलन गर्दै आएको छ ।

संखुवासभा प्रहरीले गत पुष ११ गते भोटखोलाबाट पक्राउ गरेको २०८ किलोग्राम सालकको खपटा बरामद गरेको घटना सबैभन्दा चर्चित रहेको जनाएको छ । संकुवासभामा एक वर्षमा अपराध अनुसन्धान तर्फ २०० मुद्दा दर्ता भएको जानकारी दिइएको छ ।

मङ्गलबार, ०१ साउन, २०८१, बिहानको ०७:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर