मिथिला कन्सलटेन्सीका मेनेजरमाथि प्रिन्सिपल श्रेष्ठद्धारा निर्घात कुटपिट

विराटनगर । विराटनगर–९ स्थित मिथिला कन्सलटेन्सीका मेनेजर २७ वर्षीय सुभम साहमाथि निर्घात कुटपिट भएको छ । कोवास कलेजका प्रिन्सिपल सुनिल श्रेष्ठसहित चार जनाले मेनेजर साहको कार्यकक्षभित्र सोमबार दिउँसो कुटपिट भएको हो ।

मोरङको जहदा गाउँपालिका २ घर भई विराटनगरमा बस्दै आएका मेनेजर साहलाई श्रेष्ठसहित कलेजका बाउन्सर र सुरक्षागार्डले कुटपिट गरेको आरोप छ । प्रिन्सिपल श्रेष्ठले मेनेजर साहलाई कुटपिट गरेको भिडियो पनि सार्वजानिक भएको छ । ‘श्रेष्ठसहित चार जना मेनेजर साहको कार्यकक्षमा प्रवेश गर्दछन् । उनीहरुबीच केही बेर भनाभन हुन्छ । त्यसपछि आवेगमा आएका प्रिन्सिपल श्रेष्ठले साहमाथि मुक्का प्रहार गर्न सुरु गरेको सिसि टिभी फुटेजमा देखिन्छ ।’

मिथिला कन्सल्टेन्सी कोवास कलेज परिसरबाट हटाउनुपर्ने भन्दै श्रेष्ठले मेनेजरलाई कुटपिट गरेको पीडित साहले बताए । विगत पाँच वर्षदेखि मिथिला कन्सलटेन्सी कोवास कलेज परिसरमा दुई वटा कोठा भाडामा लिएर बस्दै आएको थियो । मासिक ३५ हजार रुपैयाँ भाडा तिरेर मिथिला कन्सलटेन्सी बसेको थियो । कलेजले केही दिन अगाडि एउटा सटर खाली गर्न भनेपछि असार २७ गते खाली गरिएको थियो । ‘सोमबार फेरि अर्को सटर पनि खाली गर्नुभन्दै प्रिन्सिपल मेरो कार्यकक्षमा आउनुभयो । सम्झौता अनुसार सटर खाली गर्नुभन्दा तीन महिना अगाडि जानकारी दिनुपर्ने नियम छ । तर, हामीलाई एक्कासी आएर सटर खाली गर्नु भन्नुभयो । मैले अहिले खाली गर्न सकिदैन । समय लाग्छ मात्र के भनेको थिएँ प्रिन्सिपल श्रेष्ठसहित उहाँका बाउन्सर र सुुरक्षा गार्ड कुटपिटमा उत्रिनुभयो,’ पीडित साहले भने, ‘कुटपिटबाट मेरो टाउको र शरीरमा चोट लागेको छ । अहिले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिन आएको छु । प्रहरीले उजुरी दर्ता लिएको छैन । ’ श्रेष्ठले मदिरा सेवन गरेर अपशब्द बोल्दै कुटपिट गरेको मेनेजर साहको आरोप छ ।

प्रहरीले कुटपिटमा संलग्न प्रिन्सिपल श्रेष्ठसहित चार जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको प्रिन्सिपल श्रेष्ठलाई अहिले वडा प्रहरी कार्यालय विराटनगर ‘क’ मा राखेको छ । नेपाली कांग्रेस निटक रहेका प्रिन्सिपल श्रेष्ठलाई पावर लगाएर हाजिर जमानतमा छुटाउन कांग्रेका नेताहरु लागि परेका छन् । यो समचार तयार पार्दासम्म उनी वडा प्रहरी कार्यालयमा रहेका छन् ।
मोरङ प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले चार जनालाई नियन्त्रणमा लिएको पुष्टि गरे । ‘अहिले घटनाको अनुसन्धान भइरहेको छ । जाहरी आएको छैन,’ उनले भने, ‘ हामी अनुसन्धान गर्दै आएका छौं ।’

 

सोमबार, ३२ असार, २०८१, रातीको ०९:२८ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर