काठमाडौं । नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी दिन अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड)ले सुरु गरेको यात्रा काठमाडौँमा सम्पन्न भएको छ ।
कार्यक्रममा राजनराज शिवाकोटी, रिमा विश्वकर्मालगायतका कलाकारहरुको प्रस्तुति दिनुभयो भने विभिन्न खेल तथा अन्य मनोरञ्जनका कार्यक्रम पनि आयोजना भएको यूएसएडले जनाएको छ ।
लुम्बिनी प्रदेशबाट सुरु भएको यात्रामा युसएडको सहयोगमा भएका विभिन्न कार्यक्रमबारे जानकारी दिइएको थियो । यात्रा कपिलवस्तुको वाणगङ्गाबाट सुरु भइ बुटवल, दाङको लमही, कोहलपुर, नेपालगञ्जमा सम्पन्न भइसकेको छ ।
युएसएडले स्वास्थ्य, शिक्षा, आर्थिक वृद्धि, वातावरण, लोकतन्त्र, अधिकार र सुशासनका क्षेत्रमा राष्ट्रिय र स्थानीय स्तरका विभिन्न परियोजनाहरू सञ्चालन गरिरहेको छ । तर, यसबारे जानकारी दिन आयोजना गरिएको यात्रा भने पहिलो हो ।
संयुक्त राज्य अमेरिका र नेपालबीचको दौत्य सम्बन्ध झन्डै ८ दशकदेखि रहँदै आएको छ । युएसएडले विगत ६३ वर्षभन्दा लामो समयदेखि नेपालको स्वास्थ्य, शिक्षा, आर्थिक विकास, कृषि र विपद् न्यूनीकरणमा साझेदारी गर्दै आएको छ । अमेरिकी जनताद्वारा प्राप्त हुँदै आएको अनुदान सहयोगले नेपालको समृद्धिमा महत्वपूर्ण योगदान पुग्दै आएको छ ।
युएसएडले सन् २०२३ मा स्वास्थ्य, शिक्षा र आर्थिक वृद्धिका कार्यक्रममार्फत १० लाखभन्दा बढी महिलाहरूको जीवनमा प्रत्यक्ष योगदान पु¥याएको छ भने ५० लाख महिलाले विभिन्न कार्यक्रममार्फत अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । सन् २००० देखि युएसएडले नेपालको विकासका लागि स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, आर्थिक वृद्धि, महिला तथा बालिकाको सशक्तिकरण, मानवीय सहायता, सुशासन, वातावरण, नागरिक समाज र सञ्चार तथा व्यवसाय विकासका क्षेत्रहरूमारु एक खर्ब ९६ अर्बभन्दा बढीको सहयोग प्रदान गरेको छ ।