कृषि फार्म सञ्चालकको हत्यामा संलग्न कर्मचारी पक्राउ

विराटनगर । मोरङ सुन्दरहरैंचा ९ का ४९ वर्षीय सहदेव बजगाइँको हत्यामा संलग्न रहेको आशङ्कामा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङ उर्लाबारीनगरपालिका वडा नम्बर ४ हाटखोला घर भई बजगाइँकै कुखुरा फर्ममा काम गर्ने ३६ वर्षीय छिरिङ भन्ने सुनिल तामाङ र उनकी श्रीमती ३३ वर्षकी प्रनिसा पाँचकोटी रहेका छन् ।

सुन्दरहरैचा सुन्दरहरैचा नगरपालिका वाड नं. १ कुमार गाँउ स्थित एक तल्ले टिनको छानो बासको टाटिबेरा भएको कुखुरा फर्म भित्रै फर्मका संचालक बजगाइँको बिहीबार बिहान शव फेला परेको थियो ।

कुखुरा फर्ममा काम गर्ने दम्पतीले नै उनको हत्या गरेको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान सुरू गरेको थियो । यद्यपि दुवैजना फरार थिए । इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक तेज बहादुर दाहालको कमाण्डमा खटिएको प्रहरी टोलीले दुवैजनालाई सुनसरी धरान १२ मा रहेको बलभद्रेश्वर मन्दिर अरुणादय धर्मशालाको गेष्टहाउसबाट बिहीबार साढे ७ बजेतिर पक्राउ गरेको हो ।

प्रारम्भीक अनुसन्धानबाट उनीहरूले नै सो घटना गराएको प्रहरीको दाबी छ । बजगाइँको टाउकोमा दाउ र बञ्चरो प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

शुक्रबार, २९ असार, २०८१, बिहानको ०८:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर