विराटनगर । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री नहुने भएका छन् । उनले सरकारमा सहभागी नहुने बताएका छन् ।
बिहीबार विराटनगरमा सञ्चार कर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापाले पार्टीमा बसेर आफूले महामन्त्रीकै रूपमा काम गर्ने र सरकारमा नजाने बताएका छन् । उनले दुवै पार्टी मिलेर सहमतिमा सरकार सञ्चालन गर्ने बताए ।
महामन्त्री थापाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर नपर्ने गरी संविधानको पुनरावलोकन गरिने उनको भनाइ रहेको छ । महामन्त्री थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने भन्दै संविधान कार्यान्वयन गर्दै जाने क्रममा देखिएका त्रुटिलाई सच्याउन सबै राजनीतिक दलको साथ र समर्थन आवश्यक रहने बताए ।
महामन्त्री थापाले नयाँ सरकार गठन भएपछि मात्र प्रदेश सरकारको नेतृत्व र सहभागिता बारे छलफल गरिने बताए ।