विराटनगर । तस्करीको लाइन चलाएको आरोप लागेर हेर्डक्वाटर तानिएका सशस्त्र प्रहरी बल मोरङका प्रमुख विश्व खड्कामाथि लागेको आरोपको छानविन एवं अनुसन्धान गर्न डिआइजीको नेतृत्वमा तीन सदस्य टोली गठन भएको छ ।
सशस्त्र प्रहरी बल मुख्यालयले सीमा विभागका डीआईजी लक्ष्मणबहादुर सिंहको संयोजकत्वमा तीन सदस्यीय छानविन एवं अनुसन्धान समिति बनाएर घटनाको अनुसन्धान सुरु गरेको हो । उक्त समितिमा एसपी माधव रेग्मी र डिएसपी भुवन भण्डारीे सदस्य छन् । गठित समितिका सदस्य एसपी रेग्मी मोरङ आएर घटनाको अनुसन्धान सुरु गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता, डीआईजी कुमार न्यौपानेले जानकारी दिए ।
सीमा विभागबाटै समिति बनाएर एसपी खड्कामाथि छानबिन एवं अनुसन्धान सुरु गरिएको उनले बताए । ‘गत आइतबार बनाइएको समितिले ७ दिनभित्र प्रतिवेदन बुझाउने छन्,’ उनले भने, ‘समितिले फिल्डमा पुगेर काम सुरु गरिसकेको छ । के भएको रहेछ र तस्करीमा एसपीको संलग्नता छ कि छैन भनेर वास्तविकता बुझ्दौछौं,’ डीआईजी न्यौपानेले भने, ‘समितिको प्रतिवेदन अध्ययनपछि अरु प्रक्रिया अघि बढ्छ । दोषी देखिएमा एसपी खड्कामाथि कारबाही हुन्छ ।’
प्रतिवेदनका आधारमा एसपी खड्कामाथि कारबाही हुने कि नहुने भन्ने टुंगो लाग्ने उनले बताए । ‘आरोप लागेका सबै विषयमा छानबिन हुन्छ । केही दिनभित्रमा समितिले प्रतिवेदन बुझाउँछन् । त्यसपछि मात्रै खड्काले तस्करीमा सहयोग गरेको हो कि हैन भनेर यकिन हुन्छ,’ न्यौपानेले भने ।
२०८० साल फागुन पहिलो साता ख्डका मोरङको कमाण्ड समालेका हुन् । उनी मोरङ आएको केही समयपछि तस्करीको लाइन चलाएको आरोप छ । तस्करको समूहसँग मिलेमतो गरी नेपाल–भारत सीमा क्षेत्रबाट तस्करीको लाइन चलाएर अवैध असुली गरिरहेको उनीमाथि आरोप छ ।
विराटनगरका व्यापारी विनोद केशरीले करिब एक महिनाअघि भारतबाट भन्सार छली गरेर ल्याएको चिनी नियन्त्रणमा लिएको भएपनि रकम लिएर त्यत्तिकै छाडिदिएको भन्दै सशस्त्र प्रहरी बल मुख्यालयमा उजुरी परेको थियो । एसपी खड्का विरुद्ध बेनामे उजुरी परेपछि विभागल उनलाई हेक्टवार्टर तानेको हो ।