मोरङको सुन्दरहरैंचामा कुखुरा फर्म सञ्चालकको हत्या

विराटनगर । मोरङको सुन्दरहरैँचामा कुखुरा फर्मभित्र विभत्स अवस्थामा हत्या गरिएको एक पुरुषको शव भेटिएको छ ।

बिहीबार बिहान सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

प्रहरीका अनुसार बजगाईं कुखुरा फर्म सञ्चालक हुन् । घरनजिकै कुखुरा फर्म सञ्चालन गर्दै आएका बजगाईंको त्यही फार्मभित्र बिहीबार करिब साढे १० बजे शव फेला परेको हो । प्रहरीका अनुसार बजगाईंको टाउको क्षतविक्षत अवस्थामा भेटिएको छ भने शरीरका अन्य भागमा चोट देखिएको छ ।

बजगाईंको खुकुरा फार्ममा काम गर्नका लागि एक दम्पत्ती बसेका थिए । घटनापछि दुई जना फरार रहेको प्रहरीले जनाएको छ । फर्मभित्रै भएको घटनापछि काम गर्ने व्यक्ति फरार रहेकोले हत्यामा उनीहरुकै संलग्नता रहेको आशंका प्रहरीले गरेको छ ।

घटनास्थलमा रगत लतपतिएको अवस्थामा एउटा बन्चरो र दाउरा फेला परेको छ । मृतकको शरीरमा पनि बन्चरो र दाउले प्रहार गरेजस्तो चोट देखिएको भन्दै प्रहरीले थप अनुसन्धान भइहरेको जनाएको छ ।

बिहिबार, २८ असार, २०८१, दिउँसोको ०१:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर