युवती जिस्क्याएको निहुँमा करणको हत्या, एक नाबालकसहित चार पक्राउ

विराटनगर । विराटनगरमा एक युवाको हत्या गरेको आरोपमा मोरङ प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

सोमबार राति कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको हत्या भएको थियो । पक्राउ पर्नेमा सोनु गिरी, दावा सेर्पा, सञ्जय पुरी र एक जना नाबालक छन् ।

विराटनगर महानगरपालिका– २ स्थित नेपाल टेलिकमको कार्यालय नजिकै कैँचीले प्रहार गरेर कामतको हत्या गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक(डीएसपी) ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए

‘कामतसहित ३ जनालाई घाइते अवस्थामा फेला पारेर राति १० बजेतिर उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको थियो,’ उनले भने ‘गम्भीर अवस्थामा भेटिएका कामतको उपचारका क्रममा मृत्यु भएको छ ।’

उक्त घटनामा कटहरी–१ जमटोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते भएका छन् । घाइतेमध्ये रायको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुवै जनाको नोवेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।रायको कोखा र ढाडमा चोट देखिएको छ भने मण्डलको पाखुरा र ढाडमा चोट लागेको छ ।

बाटोमा हिँडिरहेको बेलामा केटी जिस्क्याएको विषयमा विवाद हुँदा घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

‘घटना भएको स्थानमा आइतबार पक्राउ परेका एक जनाका आफन्त केटीसँग गफ गरेर बसेका रहेछन्,’ डीएसपी बस्नेतले भने ‘कामत समूहका केटाले केटीलाई जिस्क्याएछन् । त्यही विषयमा झगडा भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।’ कामत त्यो घट्नामा भए नभएको यकिन नभएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार नै दुई समूहबीच भनाभन भएको थियो ।पछि हत्या गर्ने योजनासहित चार जनाको समूह आएको देखिएको प्रहरीले जनाएको छ ।

‘सोमबार कामतसहितको केटाहरूलाई देख्ने बित्तिकै हिजो जिस्क्याउने यिनीहरू नै हुन् भनेर एक्कासि आक्रमण गरेका रहेछन्,’ बस्नेतले भने ।​

पक्राउ परेका भोजपुरका सञ्जय ताप्लेजुङका शेर्पा र विराटनगरमै डेरा गरी बस्छन । ​​ अन्य दुई जनाको घर भने विराटनगर नै भएको प्रहरीले जनाएको छ ।

मङ्गलबार, २६ असार, २०८१, साँझको ०५:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page