विराटनगर । नेपाली कांग्रेससँग गठबन्धन बनेपछि नेकपा एमालेले संघीय सरकारसँगै बागमती, लुम्बिनी र सुदूरपश्चिम सरकार छाडेको छ । कोशी र कर्णालीमा भने एमाले नेतृत्वको प्रदेश सरकारमा माओवादी केन्द्रका मन्त्रीहरु कामकाजमै छन् ।
नयाँ गठबन्धन बनेपनि तत्काल प्रदेश सरकार छाड्न माओवादी केन्द्र तयार छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ असारमा विश्वासको मत लिने भएकाले त्यस दिनसम्मको प्रतीक्षा गरिरहेको माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो बताउँछन् । ‘एमालेले केन्द्र र प्रदेश सरकार छाडेपनि २८ असारसम्म हामी पर्खन्छौं’, उनले भने, ‘केन्द्रबाट पनि हामीलाई कुनै निर्देशन आएको छैन ।’
केन्द्रमा नयाँ समीकरण बनेपछि नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेटेर अफ्ठयारो भए मार्ग प्रशस्त गरिदिने बताएको थियो । स्रोतका अनुसार मुख्यमन्त्री कार्कीले तत्काल आफूलाई कुनै समस्या नभएको र केन्द्रको निर्देशन पनि नआएको बताएका थिए ।
मुख्यमन्त्रीले अफ्ठ्यारो महसुस गरे २८ असार अघि नै सरकार छाड्ने माओवादीका नेताहरु बताउँछन् । २७ वैशाखमा माओवादी केन्द्रको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्की पनि तत्काल माओवादी केन्द्रलाई सरकारबाट निकाल्ने पक्षमा छैनन् ।