महिला उद्यमशीलताका लागि केक बनाउने तालिम

विराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेश महिला उद्यम समितिले आयोजना गरेको दुई दिने केक बनाउने तालिम सम्पन्न भएको छ । बुढिगंगा गाउँपालिकास्थित जेसीज भवनको सभाहलमा आयोजना गरिएको तीन दिने तालिममा २५ जना उद्यमशील महिलाहरूको सहभागिता रहेको थियो ।

तालिमको समापन समारोहमा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले प्रमुख अतिथिको रूपमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरे । उनले सहभागीहरूलाई सिकेको सीपलाई व्यावसायिक रूपमा उपयोग गर्न आग्रह गरे ।

नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले स्थानीय निकायसँगको सहकार्यमा स्वरोजगार प्रवद्र्धनका लागि विभिन्न संस्थाहरूले गर्न सक्ने कार्यहरूबारे चर्चा गरे । सिआइएन कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडाले भविष्यमा पनि उद्यमी महिलाहरूको सीप विकासका लागि तालिम र प्रशिक्षणका साथै साना उद्यमशीलता प्रवद्र्धन गर्ने कार्यमा संस्थाको प्रतिबद्ध रहेको बताए ।

तालिमको प्रशिक्षण नमस्कार होटल म्यानेजमेन्टका निर्देशक दीना प्रधानले गरेकी थिइन् । कार्यक्रममा प्रशिक्षित महिलाहरूले बनाएका विभिन्न प्रकारका केकहरूको प्रदर्शनी तथा अतिथिहरूलाई खुवाइएको थियो । यस तालिमको आयोजनामा टंकी सिनवारी जेसिस बोर्ड अफ ट्रस्टी र सम्मान नेपालको सहयोग रहेको थियो । कार्यक्रममा बुढिगंगा गाउँपालिकाका प्रतिनिधि, सिआइएनका पदाधिकारी, जेसीजका सदस्य लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

यस तालिमले महिला उद्यमशीलता प्रवद्र्धन गर्नुका साथै स्थानीय अर्थतन्त्रमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । स्थानीय महिलाहरूलाई आत्मनिर्भर बनाउन र उनीहरूको आर्थिक सशक्तीकरणमा यस्ता तालिमहरूको महत्वपूर्ण भूमिका रहने विश्वास गरिएको छ ।

सोमबार, २५ असार, २०८१, साँझको ०७:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर