विराटनगर । पानीको सतह बढ्दै गएपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ ।
आज विहानको मापनमा कोशी ब्यारेजमा ३ लाख ६८ हजार क्युसेक पानी पुगेपछि ५६ वटै ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।
पानीको बहाब उच्च भएपछि सतर्कता बढाइएको प्रशासनले जनाएको छ । सप्तकोशी जलमापन केन्द्रमा जलसतह खतराको संकेत पार गरेका कारण नदी आसपासका बासिन्दालाई शतर्क रहन प्रशासनले आग्रह गरेको छ ।
पानी पर्ने क्रम जारी रहेकाले नदीमा पानीको बहाव बढ्ने क्रममा रहेको छ । जसको कारण नदी आसपासका उदयपुर, सुनसरी र सप्तरी जिल्लाका बासिन्दालाई सुरक्षित रहन भनिएको छ ।
प्रतिसेकेन्ड ९ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजको आयु कम हुँदै गएकोले क्षमता पनि कम भएको बताइन्छ । पानीको बहाव बढेसँगै निरन्तर अनुगमन गरिरहेको प्रशासनले जनाएको छ ।
यसअघि २०७६ असार २९ गते पनि ब्यारेजका सबै ढोका खोलिएको थियो । पानीको बहाव अहिले पनि निरन्तर बढिरहेकोले जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी सूचना केन्द्रले पनि सप्तकोशीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा सतर्क रहन सूचित गरेको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।