पोखरीयामा विद्यार्थीको आकर्षण

विराटनगर । विराटनगर – ३ मा रहेको पोखरीया माध्यमिक विद्यालयमा कक्षा ११ मा पनि विद्यार्थीको आकर्षण बढेको छ । कक्षा ९ सम्म अध्ययन गर्न भिड लाग्ने गरेको पोखरीया स्कुलमा उच्च शिक्षा अध्ययन गर्नको लागि पनि विद्यार्थीको चाप रहेको छ ।

विद्यालयले शनिवार कक्षा ११ मा लिएको प्रवेश परीक्षामा ४९६ जना विद्यार्थी सहभागी भएको विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी दिए । विज्ञान विषयको प्रवेश परीक्षामा २१२ र व्यवस्थापनमा २८४ गरी प्रथम चरणको प्रवेश परीक्षामा ४९६ विद्यार्थी सहभागी भएको उनले बताए ।

गत वर्ष यस विद्यालयको कक्षा ११ को विज्ञान विषयमा १२५ र व्यवस्थापन विषयमा २६२ विद्यार्थीहरू सहभागी भएका थिए । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले पोखरीयामा निजी छाडेर स्वतः स्फूर्त भर्ना हुन आएका विद्यार्थीरतको भीड लाग्ने गरेको छ । पोखरीयाले निजी बोर्डिङ स्कुललाई शैक्षिक गुणस्तरमा चुनौती दिएका छन् । निजी स्कुलमा छोराछोरीलाई पढाइरहेका थुप्रै अभिभावकले आधारभूत तहपछि यिनी सामुदायिक विद्यालय रोज्न थालेका छन् । तर, त्यस्ता सामुदायिक विद्यालयमा भर्ना पाउन ठुलै पापड बेल्नुपर्छ ।

विद्यार्थीको चाप बढेपछि विद्यालयले नयाँ भर्ना हुने विद्यार्थी संख्याको सीमा तोकेर प्रवेश परीक्षा लिने गरेको छ ।

सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती शिक्षक शिक्षिकाहरूका कारण यो विद्यालयमा छोराछोरी पढाउने धेरै अभिभावक लालायित हुने गरेका छन् ।

अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेपछि विद्यार्थीको चाप बढी भएपछि प्रवेश परीक्षा लिएर नाम निकाल्ने विद्यार्थीको मात्र भर्ना गर्नुपर्ने अवस्था आएको प्रधानाध्यापक भट्टराईले बताए । अंग्रेजी माध्यमबाट पढाइ गर्दै उत्कृष्ट नतिजा दिँदै आएको छ ।

शनिबार, २३ असार, २०८१, दिउँसोको ०३:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर