धनकुटामा गएको छ महिनाको अवधिमा ५६ वटा मानव अधिकार उल्लंघन

धनकुटा । धनकुटामा गएको छ महिनाको अवधिमा ५६ वटा मानव अधिकार उल्लंघनका घटना भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाले बिहीबार नेपाल मानवअधिकार वर्षपुस्तकका लागि ६ महिना संकलन गरेर आयोजना गरेको अर्धवार्षिक पूर्वसमिक्षा कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।

कार्यक्रममा इन्सेकले जनवरीदेखि हालसम्मको अवधिमा मानव अधिकारसँग सम्बन्धित विभिन्न घटनाहरु प्रस्तुत गरेको थियो । जसमा एक जनाको हत्या, दुई जनाको हत्याको प्रयास, तीन महिला र पाँच बालबालिका बलात्कृत, एक महिलाको बलात्कारपछि हत्या, दुई बालबालिकामाथि यौन दव्र्यवहार, एक जनामा जातीय विभेद, दुई जना आत्माहत्या दुरुत्साहन र ३९ जना घरेलु हिंसाबाट पीडित भएको इन्सेक धनकुटा प्रतिनिधि ईश्वर थापाले जानकारी दिए ।

अर्धवार्षिक घटनाको तथ्याङ्क हेर्दा गत वर्षभन्दा यो वर्ष अझै मानव अधिकार उल्लंघनका घटनामा वृद्धि हुने देखिएको इन्सेकले जनाएको छ । सन् २०२३ मा धनकुटामा १०० घटनामा १०३ जना पीडित रहेको भएपनि सन् २०२४ को पहिलो ६ महिनामै ५६ जना पीडित भएको इन्सेकले प्रतिवेदनमा उल्लेख गरेको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जिल्लामा भएका मानव अधिकार उल्लघंनका बढ्दै गएको पाइएकाले आगामी दिनमा यस्ता घटना न्यूनिकरणमा लागिपर्ने बताए । जिल्ला प्रशासन कार्यालयले धनकुटाका सबै सुरक्षा निकाय र स्थानीय तहहरुसँग छलफल गरी सचेतनामूलक कार्यक्रम गरिरहेको उनले जानकारी दिए ।

बिहिबार, २१ असार, २०८१, साँझको ०६:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page