धानमा कोशी प्रदेशलाई आत्मनिर्भर बनाउँछौं : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशीमा धानको उत्पादन बढाएर परनिर्भरता घटाइ निर्यात गर्ने वातावरण सृजना गर्ने बताएका छन् ।

धान दिवसको अवसरमा शनिबार मोरङको जहदामा आयोजित रोपाइँ कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार धानको उत्पादन बढाएर निर्यात गर्नेगरि योजनाबद्ध काममा लागिपरेको बताए ।

नेपाल ४० वर्ष अघिसम्म धान निर्यात गर्नसक्ने राष्ट्रको रुपमा रहेको स्मरण गर्दै उनले सरकारले कृषि क्षेत्रलाई प्राथामिकता दिएर काम गरेको दावी गरे । सरकारले ल्याएको नीति र बजेट पनि कृषि क्षेत्रलाई प्राथामिकता दिएको भन्दै उनले २१ वर्ष अघिदेखि धानको उत्पादन बढाउने उद्देश्य र यसको विकास गर्ने हेतुले सुरू गरिएको धान दिवसले अझै मुर्तरूप लिन नसकेको उल्लेख गरे । अव्यवस्थित, बसोबास, बढ्दो सहरीकरण र जग्गाको खण्डीकरण तथा दुरुपयोगले धान उत्पादन घटिरहेको उनको भनाइ छ ।

कार्यक्रममा मुख्यमन्त्री कार्की किसानहरुसँगै रोपाईमा पनि सरिक भएका थिए । उद्योग, कृषि तथा सहकारी मन्त्रालयले संयोजन गरेको कार्यक्रममा कोशी प्रदेशमा हालसम्म १३.७१ प्रतिशत धान रोपाई भएको जानकारी कृषि विकास निर्देशानलयका प्रमुख प्रकाश डाँगीले दिए ।

शनिबार धान दिवसकै अवसरमा मोरङको रंगेलीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले धान खेती प्रवद्र्धनको लागि सरकार लागिपरेको बताए । नेकपा एमाले रंगेली नगर कमिटिले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री कार्कीले कृषिमा विद्युत सहुलियत प्रदान गर्न सरकार प्रतिवद्ध भएको बताउँदै विऊ उत्पादनमा आत्मनिर्भर र खाद्यान्नमा आत्मनिर्भर हुने योजनासाथ अगाडि बढेको जानकारी दिए ।

कार्यक्रममा रंगेली नगरपालिका मेयर दिलिप बगडियाले रंगेलीका समस्या राखेका थिए । उनले कृषि उत्पादनसँग जोडिएका सडक निर्माण र किसानलाई खेती गर्नका लागि सिचाई गर्न विद्युत उपलब्ध गराउनुपर्ने बताए ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी, एमाले नेता जीवन घिमिरे, एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीलगायतको सहभागिता रहेको थियो ।

शनिबार, १६ असार, २०८१, साँझको ०६:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page